शनिबार, जेठ ५, २०८१

राष्ट्र बैंकले ब्याजदरमा दिएकाे निर्देशनसँगै बढ्यो नेप्से, २ अर्ब ६७ करोडको कारोबार

नेपालखोज २०७८ कार्तिक ३ गते १५:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दे निक्षेपको उच्च ब्याददरमा लगाएको अंकुशको प्रभाव नेप्सेमा देखिन थालेको छ । राष्ट्र बैंकले अघिल्लो दिन वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा परिपत्र जारी गर्दे निक्षेपको ब्याजदरलाई १० प्रतिशतम्ममा निर्धारण गर्न निर्देशन दिएको थियो ।

उक्त निर्देशनको प्रभाव साताको चौथो दिन अर्थात आज बुधबारको सेयर कारोबारमा देखिएको छ । अघिल्ला दिनहरुमा लगातार उच्च अंकले घट्दै आएको नेप्से आज बुधबार ६० दशमलव ५६ अंकले बढेर २५ सय ७१ दशमलव ६६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव नौ अंकले बढेर चार सय ८४ दशमलव पाँच अंकमा पुगेको छ ।

दुई सय १७ वटा कम्पनीहरुकहो ३४ हजार छ सय ४४ पटकको कारोबारमा ६१ लाख एक हजार चार सय १४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ६७ करोड ९० लाख २८ हजार एक सय ५५ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३२ दशमलव ६२ अंकले बढेर १८ सय छ दशमलव ४० अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ४८ दशमलव एक अंकले बढेर ११ हजार पाँच सय तीन दशमलव १९ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय ८९ दशमलव ६९ अंकले बढेर १४ हजार चार सय ५२ दशमलव ५२ अंकमा पुग्दा विकास बैंक, जलविद्युुत फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज मैलुङ खोला जलविद्युत कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्र्रतिशतले बढेर चार सय २२ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य चार दशमलव ९६ प्रतिशतले घटेर तीन सय ५८ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता १४ सय ६० रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ४८ लाख पाँच हजार ४८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया