बुधबार, वैशाख २६, २०८१

वाग्मती प्रदेश सभाको बैठक कात्तिक १० सम्मका लागि स्थगित

नेपालखोज २०७८ कार्तिक ४ गते १८:४५

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नै नगरी प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

दलीय धारणापछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मत माग्ने प्रस्तावमाथिको बाँकी प्रक्रिया कात्तिक १० गते दिउँसो १ बजे बस्ने बैठकमा अघि बढ्ने जानकारी दिए ।

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।

प्रतिक्रिया