बिहीबार, वैशाख १३, २०८१

उत्पादन हुँदै ५.७ करोड टन इलेक्ट्रोनिक फोहोर, पर्यावरणका लागि ठूलो खतरा !

नेपालखोज २०७८ कार्तिक ५ गते ११:४१

काठमाडौं । डब्ल्यूईईईका शोधकर्ताहरुको अनुमानअनुसार सन् २०२१ मा ५.७ करोड टनभन्दा बढी इलेक्ट्रोनिक फोहोर उत्पादन हुँदै छ ।

काम नलाग्ने इलेक्ट्रोनिक उपकरणहरुको यो परिमाणको वजन चीनको विशाल पर्खालभन्दा पनि बढी हुन्छ । चीनको विशाल पर्खाल नै यो धरतीमा मानव निर्मित सबैभन्दा भारी वस्तु हो ।

गएको वर्ष जारी ग्लोबल ई-वेस्ट मनिटर रिपोर्ट-२०२० अनुसार वर्ष २०१९ मा करिब ५.४ करोड टन इलेक्ट्रोनिक फोहोर उत्पादन भएको थियो । बितेका पाँच वर्षमा यस्तो फोहोर उत्पादनमा करिब २१ प्रतिशत वृद्धि भएको पाइन्छ । अनुमानअनुसार सन् २०३० सम्म यस्तो फोहोरको उत्पादन बढेर ७.४ करोड टन पुग्नेछ ।

सन् २०१९ मा एसियामा मात्र संसारकै सबैभन्दा बढी करिब २.५ करोड टन ई-वेस्ट उत्पादन भएको थियो । सन् २०१९ मा अमेरिकामा १.३ करोड टन, युरोपमा १.२ करोड टन, अफ्रिकामा २९ लाख टन तथा ओसिनिया क्षेत्रमा करिब ७ लाख टन इलेक्ट्रोनिक फोहोर उत्पादन भएको थियो । अनुमानअनुसार आउँदो १६ वर्षभित्र ई-वेस्टको यो मात्रा लगभग दोब्बर भइसक्नेछ।

आज जसरी संसारभर इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स सामानप्रति मानिसको रुचि बढेको छ त्यो नै आफैंमा सबैभन्दा ठूलो समस्या हो । समयका साथ यस्ता उत्पादनमा तीव्र गतिमा परिवर्तन आइरहेको छ भने मानिसहरुले पनि पुराना सामान फ्यालेर नयाँ सामान लिइरहेका छन् । यसैको परिणामस्वरुप इलेक्ट्रोनिक फोहोरको उत्पादन पनि तीव्र गतिमा बढिरहेको छ ।

प्रतिक्रिया