बिहीबार, वैशाख १३, २०८१

भिटामिन डीको कमी वा बढी भए के हुन्छ ?

डा. हेमराज कोइराला २०७८ कार्तिक ६ गते १५:३३

भिटामिन डीको कमीले बच्चाहरुमा रिकेट्स र वयस्कहरुमा अस्टियोमलासिया नामक रोग लाग्छ । यी रोग लागेकाहरुको आन्द्राले पर्याप्त क्याल्सियम अवशोषित गर्न सक्दैन । फलतः रगतमा क्याल्सियम र फस्फोरसको स्तर यथावत राख्न शरीरले हड्डी र कार्टिलेजहरुमा संकलित क्याल्सियम र फस्फोरस निकालेर रक्तस्रोत कायम राख्छ । भिटामिन डीको कमी भए पिसाबमा खेर गइरहेका क्याल्सियम र फस्फोरसलाई पनि पुनःअवशोषण गरेर फर्काउन नसक्दा पिसाबमा यी तत्त्वहरुको उत्सर्जन देख्न सकिन्छ ।

यी सबै घटनामा मुख्यतः निम्नलिखित लक्षणहरु देख्न सकिन्छ :
१) हड्डीको अस्थी घनत्व घट्ने ।
२) हड्डी कमजोर भइ भाच्चिने चर्किने र बांगिने ।
३) जोर्नीहरु दुख्ने, चलाउँदा कटकट आवाज आउने ।
४) ढाड, कम्मर, गर्धन दुख्ने, पिडुला, तिघ्रा दुख्ने ।
५) कपाल झर्ने, नङ भाँचिने ।
६) जिउ पोल्ने, मांसपेशी बाउँडिने ।
७) घाउ खटिरा र संक्रमण भइरहने ।
८) थाकेको महसुस हुने।
९) बेचैनी बढ्ने,भावनात्मक विचलन भइरहने ।
१०) महिनावारी गडबड भइरहने ।
११) बाँझोपन जस्ता समस्या देखापर्ने ।
१२) हरगानेहरुको असन्तुलन ।

भिटामिन डी बढी भए के हुन्छ ?
शरीरमा चाहिनेभन्दा ज्यादा भिटामिन डी भए पनि नशा र मांशपेशीले संगठित रुपमा कार्य गर्न नसक्ने मांशपेशीको टोन कम हुने, वेचैनी बढ्ने, कोमल तन्तुहरुमा क्याल्सियम जम्मा हुने, मृगौलामा पत्थरी पलाउने, मिर्गौला फेल हुने र हड्डी र कलेजहरु असाधरण रुपले बढ्ने जस्ता समस्या देखा पर्दछ ।

कमी भएको कसरी थाहा पाउने ?
भिटामिन डी को रक्तस्तर ठीक छ छैन भनेर भिटामिन डी २५ हाइड्रोक्सी–कोलेक्यल्सिफेरोलको रक्त–स्तर जाँच्नु पर्ने हुन्छ । रक्त स्तरलाई ng/ml को इकाईमा मापन गरिन्छ ।

क) १० ng/ml भन्दा तल अत्यन्त कमी
ख) १० –२० ng/ml भन्दा तल कमी
ग) २०–३० ng/ml अपर्याप्त
घ) ३०–५० ng/ml ठिक्क
ङ) ५०–१०० ng/ml पर्याप्त
च) १००ng/ml भन्दामाथि विषाक्त
छ) ८०० ng/ml भन्दामाथि खतरनाक विषाक्त

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया