शुक्रबार, वैशाख ७, २०८१

रातको गीत

तारा गाउँले २०७८ कार्तिक ६ गते ८:१२

चकमन्न निस्तब्ध
चुपचाप मस्त निदाएको छ रात ।
शहर
गाउँ

बजार गल्ली गल्ली
सबै मस्त निद्रामा।
पिल पिल जुनकिरी जस्ता
यी शहरका बत्तीहरु
लाग्छ कुनै गुम्बामा बालिएका
शान्ति दिपहरू हुन्।
मन्द वतास चलेको छ
पारिजात र रजनीगंधाको वासना बोकेर।

दिन भरी गाली गर्ने छिमेकी पनि
थाकेर मस्त निदाएको छ
उधारो तिर्न नसकेर कराउने साहु पनि
मस्त निदाएको छ
सबैभन्दा आनन्द त यस कारणले छ की
सधै झुटमा रमाउने नेताको
झुसिलो डकार जस्तो
भाषण सुन्न पर्दैन रातमा ।
कोही मलाई नक्कली सामान बेच्न आउदैन
न कसैले ढाँट्छ न कसैले ठग्छ
कुनै मजदुर लाई गर्दैन गाली मालिकले।
मालिक मस्त निद्रामा छ
मजदुर मस्त निद्रामा छ
न कुनै देवताको पाउमा ढोग्नुपर्छ रातमा
न कुनै निर्दोषको बलि दिनु पर्छ
मन्दिरको बन्द ढोका भित्र
मस्त निद्रामा छन् देउता पनि।

क्रान्तिकारी नेताको
टाउकोको मोल तोक्ने
शासकको बन्दुक पनि मस्त निदाएको छ।

सन्नाटालाई चिर्दै गाइरहेछन्
रातको सुमधुर गीत
एक हुल कुकुरहरू ।
कति पृय छ यो रात
प्रेमको अंगालोमा मस्त निदाएको छ रात ।

दिनको उज्यालोमा छटपटाएको भोक
अहिले चुपचाप निदाएको छ।
दिन –
सधै गाली गरेर रातलाई
आफ्नो कुरुप अनुहार ढाकछोप गर्छ
कुकर्म सबै दिनले नै गर्छ
चोर्नेले पनि उज्यालो मै चोर्छ
बदनाम भने सधै रात छ ।
रातलाई सत्तो सराप गरेर
दिनको कविता लेख्ने प्रख्यात कवि पनि
मस्त निद्रामा छ।
रात शान्त छ
लाग्छ
सिङ्गो धर्ती ध्यान मग्न छ
आनन्दमा छ
लाग्छ यो रात कहिल्यै नजाओस्
सबैभन्दा सत्य त यो हो कि
यो रात भएर नै
म छु
तिमी छौ
र हामी सबै छौ।

प्रतिक्रिया