बिहीबार, वैशाख १३, २०८१

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

नेपालखोज २०७८ कार्तिक ६ गते ७:०८

काठमाडौं । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली यू–२३ राष्ट्रिय टोली इन्डोनेसियाको यू–२३ टोलीसँग २–० ले पराजित भएको छ । शुक्रबार ताजिकिस्तानमा नेपाली राष्ट्रिय टोलीले एएफसी यू–२३ एसियन कप छनोटको तयारीका लागि इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।

नेपालले पहिलो हाफमा इन्डोनेसियालाई गोलरहित बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफमा नेपालले इन्डोनेसियालाई रोक्न सकेन । खेलको ५५औँ मिनेटमा नेपाल १–० ले पछि पर्यो ।

इन्डोनेसियाका हसिन साधराले अग्रता गोल गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित भयो ।

इन्डोनेसियाका लागि विजयी गोल विटेन सुलेमानले गरेका हुन् । एसियन कप छनोटमा नेपालले इरान, लेबनान र आयोजक ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाली खेलाडी एक महिनादेखि प्रशिक्षणमा छन् । प्रशिक्षक महर्जनले गत साता माल्दिभ्समा सम्पन्न १३औँ दक्षिण एसियाली फुटबल च्याम्पियनसिपमा सहभागी ६ खेलाडीलाई यू–२३ टोलीमा समावेश गरेका छन् ।

एएफसी यू–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदै छ । नेपालले २५ अक्टोबरमा इरान, २८ अक्टोबरमा ताजिकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । एएफसीले छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।

प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा हुनेछ । नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन ।

प्रतिक्रिया