शनिबार, वैशाख १५, २०८१

नेता पौडेलले भने : संसदले ५ वर्षे कार्यकाल पूरा गर्छ

नेपालखोज २०७८ कार्तिक ६ गते १५:०९

कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने बताएका छन् । शनिबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दे वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।

त्यस्तै नेता पौडेलले ‘अर्ली इलेक्सन’ अहिले सम्भव नभएको पनि बताएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको समयावधि अगावै निर्वाचनबारे गठबन्धनमा छलफल भइरहेको बताएको भोलिपल्ट पौडेलले यस्तो बताएका हुन् ।

उनले अदालतको आदेशमा संसद पुनर्स्थापना भएर सरकार बनेको र अझ समय नपुग्दै संसद विघटन गरी चुनावमा जानु राम्रो नहुने तर्क गरे । संसदको पूर्णकालका लागि आफूहरू लडेकाले अर्ली इलेक्सनको कुरा सम्भव नभएको उनको भनाई छ ।

त्यस्तै वरिष्ठ नेता पौडेलले कांग्रेसको महाअधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । उनले आफू त्यसकै पक्षमा रहेर पार्टी सभापतिलाई सचेत गराइरहेको पनि बताए । केही जिल्लाको क्रियाशील सदस्यता विवाद अझै नटुंगिएको स्मरण गराउँदै उनले चाँडो टुङ्ग्याएर प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

उनले सुदूरपश्चिममा बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू सुदूरपश्चिम आएको बताएका छन् । नेता पौडेल यतिबेला सुदूरपश्चिममा बाढी पहिरोले पुर्याएको क्षतिबारे निरिक्षण गर्न त्यहाँ गएका छन् ।

प्रतिक्रिया