शुक्रबार, जेठ ४, २०८१

प्रदेश १ : विश्वासको मत लिँदै मुख्यमन्त्री आचार्य

नेपालखोज २०७८ कार्तिक ७ गते ८:०५

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभामा विश्वासको मतका लागि आज मतदान हुने कार्यतालिका छ । नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रमा सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । तर मुख्यमन्त्रीमा कांग्रेसले पनि दाबी गर्दै आएको छ ।

एकीकृत समाजवादीबाट राजेन्द्र राई र नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेश १ र बाग्मती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने चर्चा थियो । तर बाग्मती प्रदेशमा पनि कांग्रेस र माधव नेपालको समाजवादी पार्टीले आधाआधा कार्यकाल मुख्यमन्त्री चलाउने सहमति भइसकेको छ ।

प्रदेश नम्बर १ को प्रदेश सभा ९३ सदस्यीय छ । यसमा माओवादीका नेता टंक आङ्बुहाङ एमालेमा गएका कारण उनको पद खारेज भएपछि हाल ९२ सांसद् छन् । जसमा १० जना एकीकृत समाजवादीमा गएपछि एमालेका अब ५१ बाट ४१ सांसद् भएका छन् ।

प्रदेश १ मा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, संघीय समाजवादीका ३ तथा राप्रपा र संयुक्त राष्ट्रिय लोकतान्त्रिक मञ्चका १–१ सांसद् छन् ।

मुख्यमन्त्री आचार्यलाई आफ्ना पक्षमा बहुमत ४७ सांसद् आवश्यक पर्छ । यसरी आचार्य अल्पमतमा परिसकेका छन् ।

प्रतिक्रिया