शनिबार, वैशाख ८, २०८१

जडीबुटी संकलन गर्न हुम्ला पुगेका मुगुका युवकको मृत्यु

नेपालखोज २०७८ कार्तिक ७ गते २१:०७

सिमकोट । हुम्लाको चंखेली गाउँपालिकाको वन क्षेत्रमा जडीबुटी संकलन गर्न आएका मुगु घर भएका एक युवकको मृत्यु भएको छ ।

चंखेली–३ को मिमीमा रहेको वन क्षेत्रमा जडीबुटी संकलन गर्न गएका मुगु कार्मारोङ गाउँपालिका–४ स्थित कार्तिक गाउँका ३३ वर्षीय छिरिङ लामा कटुकी संकलन गरी घर फर्किने क्रममा हिउँ पहिरामा परी मृत्यु भएको हो । मृतका दाजु ३७ वर्षीय कार्मा सुण्डा लामाको दाहिने हात भाँचिएर घाइते भएको जानकारी प्राप्त भएको छ ।

दाजु कार्मा सुण्डासहित सातजना दुई दिन लगाएर चंखेली–३ मिमी गाउँ हुँदै मुगु फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जडीबुटी सङ्कलन गर्न गएका छोइटिन लामा, आङजिङ लामा, तोचे लामा, छोइटाङ लामा, सङ्गीता लामा र कार्मा सुण्डा लामा भने घर फर्किएका छन् ।

जडीबुटी संकलनमा हिउँ पहिरामा परी मृत्यु भएको छिरिङको शव जंगलमै रहेको उनका दाजु कार्माले घर पुगेर रिपोर्ट गरेपछि जानकारी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले बताए ।

चंखेली–३ को मिमी गाउँदेखि दुई दिन टाढा रहेकाले कुन ठाउँमा हो यकिन गरी मात्रै खोजी हुने प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ । मेलछाम प्रहरी चौकीबाट दुई दिन टाढाको जङ्गल भएकाले खोजी गर्न प्रहरीलाई कठिन भएको उहाँले जानकारी दिए । रासस

प्रतिक्रिया