शुक्रबार, वैशाख १४, २०८१

घाम र कुहिरोको लुकामारी चल्ने चन्द्रागिरि (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक ८ गते १०:२४

काठमाडौं । छिन्–छिनमा आउने कुहिरोको स्पर्श । छिनमै पुनः पारिलो घाम काठमाडौंको चन्द्रागिरि पर्वतको विषेशता नै हो । ८ हजार ३ सय ६५ फिट उचाइमा रहेको यहाँ घाम र बादलको लुकामारी चलिरहन्छ । यस्तै मौसमका कारण यति बेला चन्द्रागिरि पुग्ने पर्यटक रमाउँछन् ।

आगन्तुक हरियो डाँडामा कुहिरो र घामकोे अलौकिक दृष्यलाई पृष्ठभूमि पारेर हतारहतार क्यामेरामा कैद गर्न मरिहत्ते गर्छन् । बढ्दै गएको चिसोकैमाँझ जाडो याममा भने यहाँ हिउँ खस्छ । हिउँसँग खेल्ने प्रतिक्षामा धेरै छन् ।

बेलाबेलामा प्राप्त हुने तापिलो सूर्यको किरणले आगन्तुकलाई शरद् ऋतुले स्वागत गरेएको झैँ मौसमको अनुकूलता अनुभूत गराउँछ । सिङ्गो काठमाडौँ उपत्यकालाई चन्द्रागिरिको टुप्पोबाट नियाल्न पाउँदा आगन्तुक दङ्ग पर्छन् ।

वनको माथिमाथि मन्द गतिको केबलकार यात्राले थप पुलकित बनाउँछ यहाँ । केबलकारबाट तल हरिया थुङ्गा झैँ रुख देखिए । सयौँ थरीका बोटबिरुवाको रौनक अर्कै छ ।

पृथ्वीनारायाण शाहको शालिक नजिक पुगेर औँलो उठाएको भान पार्दै पालैपालो तस्वीर कैद गर्न छुट्दैन । लामो समयदेखि बन्द रहेर गत भदौ १९ बाट यहाँको केबलकार सञ्चालनमा आएपछि अहिले चहलपहल थपिएको छ ।

चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहले स्वास्थ्यका मापदण्ड पालना गरेर केबलकार सञ्चालन गरिएको र अहिले विस्तारै विभिन्न जिल्लाबाट मानिस घुम्न आउन थालेको बताए । यहाँ अहिले जीपलाइन र रिसोर्टसमेत सञ्चालनमा छ । दैनिक एक हजार पर्यटक पुग्न थालेका छन् । बिदाको दिनमा बढी पुग्छन् ।

प्रतिक्रिया