बुधबार, वैशाख १९, २०८१

गण्डकी प्रदेश सरकारद्वारा विपत् उद्धार सामग्री हस्तान्तरण

नेपालखोज २०७८ कार्तिक १० गते १४:३५


गण्डकी । गण्डकी प्रदेश सरकारले नेपाली सेना र सशस्त्र प्रहरी बललाई विपत् उद्धारसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । विभिन्न समयमा आइपर्ने विपत्तिमा सुरक्षाकर्मी नै पहिला खटिनुपर्ने र उनीहरूलाई स्रोतसाधनयुक्त बनाउन सके क्षति कम हुने उद्देश्यका साथ सामग्री हस्तान्तरण गरिएको हो ।

प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली सेनाको मध्यकमाण्ड प्रमुख उपरथी विनयविक्रम राणा र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति शम्भु सुवेदीलाई विपत् उद्धार सामग्री हस्तान्तरण गरे ।

सुरक्षा र विपद् व्यवस्थापन नेपाली सेना र सशस्त्र प्रहरीको मुख्य दायित्व भएकाले ती निकायलाई सुविधा सम्पन्न गराउन प्रदेश सरकार हरसम्भव प्रयासरत् रहेको उनले बताए ।

प्रदेशको क्षमताअनुसार सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउने प्रयासमा सरकार रहेको उनले बताए । मुलुकमा विभिन्न समयमा आइपर्ने विपत्तिमा जहिल्यै अगाडि खट्ने सुरक्षाकर्मीप्रति जहिल्यै सम्मान व्यक्त गर्नुपर्ने भन्दै उनले कोभिड महामारीका बेलामा समेत सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएको स्मरण गरे ।

नेपाल मात्र नभएर विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि समेत नेपाली सुरक्षाकर्मीको भूमिका उल्लेखनीय रहेको मुख्यमन्त्री पोखरेलले चर्चा गरे । ती सामग्रीको खरिद मूल्य करिब ८० लाख रुपैयाँ छ ।

गण्डकी प्रदेश सरकारका बिना विभागीय मन्त्री डोबाटे विश्वकर्माले सीमा सुरक्षासहित कानून कार्यान्वयन र विपत् व्यवस्थापनमा सुरक्षाकर्मीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले गण्डकी प्रदेश सरकारले बर्खा अगावै यी सामग्री हस्तान्तरण गर्न चाहेको भए पनि खरिद प्रक्रियामा केही ढिलाइ भएको बताए । जतिखेर पनि आइपर्ने विपत्‌बाट हुने जनधनको क्षति कम गराउनका लागि यी सामग्री उपयोगी सिद्ध हुने उनको भनाइ छ ।

भूकम्प, आगलागी, बाढीपहिरो, सडक दुर्घटना, खोंचमा हुने दुर्घटनाबाट बचाउन प्रयोग गरिने १६ प्रकारका १ सय ८० थान सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीले जानकारी दिए । –रासस

प्रतिक्रिया