राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराऔं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराई सबै विवरण टिपाउन आग्रह गरेकी छन् ।
जनगणना राज्यले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम तथा सामाजिक सुरक्षा लगायतका सुविधाको प्रक्षेपण गर्ने महत्वपूणर् आधार भएकाले सबैले सहयोग गर्नुपर्ने उनले बताएकी हुन् ।
जनगणनाको सुरुवातका अवसरमा आज सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । ‘सबै नागरिकको पारिवारिक, सामाजिक तथा आर्थिक विवरणहरू सङ्कलन, प्रशोधन एवं प्रकाशन गर्ने समष्टिगत प्रक्रिया नै जनगणना हो ।
जनगणनामार्फत् उपलब्ध हुने तथ्यांक मुलुकको विकास निर्माणसम्बन्धी नीति, योजना र कार्यक्रम निर्माणको लागि आवश्यक सूचनाको स्रोत हुनुका साथै राज्यले सञ्चालन गर्ने कल्याणकारी कार्यक्रम तथा सामाजिक सुरक्षा लगायतका सुविधाको प्रक्षेपण गर्ने महत्वपूणर् आधार रहिआएको छ ।’ सन्देशमा भनिएको छ ।
ठूलो परिमाणमा स्रोत, साधन तथा जनशक्ति प्रयोग हुने र तयारीको लागि समेत लामो समय लाग्ने भएकाले जनगणनालाई महत्त्वपूणर् राष्ट्रव्यापी कार्यक्रमको रूपमा सफल तुल्याउनु पर्ने उनको भनाई छ ।
राष्ट्रपति भण्डारीले यथार्थ विवरण टिप्ने र टिपाउने कार्यमा योगदान गर्न जनप्रतिनिधि लगायत सबैलाई आह्वान गरेकी छन् । नेपालमा वि.सं. १९६८ देखि जनगणना गरिने कार्यको थालनी भएको हो। एक शताब्दी लामो इतिहास पूरा गरिसकेको जनगणनाका पछिल्ला नतिजाहरू प्रकाशनका रूपमा पनि उपलब्ध छन् ।

प्रतिक्रिया