‘नेपाल-भारतको धार्मिक पर्यटन प्रवर्द्धन गर्न शिव परिपथ अपरिहार्य’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि शिव परिपथको विकास हुन आवश्यक रहेकाे बताएका छन् ।
भारत स्वतन्त्र भएको ७५औंं वर्षका अवसरमा भारतीय राजदूतावासले आयोजना गरेको छ दिने पशुपतिनाथ–काशी विश्वनाथ मोटरसाइकल र्यालीका सहभागीलाई नेपालको झन्डा हस्तान्तरण गर्दै उनले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्धनका निम्ति शिव परिपथको विकास अत्यावश्यक भएकामा जोड दिएका हुन् ।
पशुपतिनाथ, काशी विश्वनाथ, बद्रीनाथ र केदारनाथलाई शिव परिपथको रूपमा विकास गर्नका साथै नेपाल तथा भारतका प्राचीन र मौलिक सभ्यताका धार्मिकस्थल प्रवद्र्धनमा मन्त्री आलेले जोड दिएका हुन् ।
समानतामा आधारित नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई समान धर्म, संस्कृति, परम्परा र रीतिरिवाजले अझ प्रगाढ तुल्याएको बताउँदै उनले हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर शिवका चारधाम खुला संग्राहलय भएको बताए ।
नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच निरन्तर सुमधुर सम्बन्धको प्रतीकका रूपमा काशी विश्वनाथ र पशुपतिनाथ रहेका र तिनले नै दुवै देशका जनतालाई प्रेम र सद्भावको सूत्रमा जोडेको बताए ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा र पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश रावलले र्यालीका सहभागीको सुस्वास्थ्य एवं सुरक्षित यात्राका लागि शुभकामना व्यक्त गरे । पचासवटा मोटरसाइकलको उक्त र्याली यही कात्तिक ३० गते काशी अर्थात् वाराणसी पुग्नेछ ।

प्रतिक्रिया