धितोपत्र बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका अनुसार अन्तिम समयमा आएर थप एक जनाको आवेदन थपिएसँगै आवेदन दिनेको संख्या १२ पुगेको हो।
आवेदन दिनेहरूमा नीरज गिरी, डा. नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिन्जिबी चापागाईँ, कृष्णप्रसाद आचार्य, गोपाल भट्ट,डा. केशव प्रसाद श्रेष्ठ,जीवन अमगाइ, रमेश हमाल,अम्बिका शर्मा लामिछाने र हेमन्त बस्याल रहेको अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रमेश कुमार केसीले बताए ।
धितोपत्र बोर्डको रिक्त पदको लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गरी आवेदन माग गरेको थियो। निवेदन दिने आज अन्तिम दिन थियो। बिहीबार कार्यालय समयसम्म एक दर्जनले आवेदन दिएका थिए । आवेदन गर्नेहरूमा पूर्व प्रशासकदेखि पूर्व अध्यक्षसम्म रहेका छन्।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया बढाएको थियो । धितोपत्र बोर्डको अध्यक्षका लागि नियुक्तिको लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा।डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको थियो ।
गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो । समितिले अध्यक्ष नियुक्तिका लागि आवेदन दिएकामध्येबाट योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।

प्रतिक्रिया