मंगलबार, वैशाख ४, २०८१

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

नेपालखोज २०७८ कार्तिक २९ गते १४:२८

काठमाडौं । ओखलढुंगा, सिन्धुली, स्याङजा र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडास्थित सडकमा ओखलढुंगाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा सिद्धिचरण नगरपालिका–१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकामध्ये ४ जनालाई मुस्ताङ एयरको हेलिकोप्टरद्धारा काठमाडौं पठाइएको, ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको र अन्य घाइतेहरुलाई मिशन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ रिठ्ठे गाउँस्थित सडकमा रा.१ त ३१७३ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँस्थित रिठ्ठे टोल बस्ने ६६ वर्षीय रमेश भन्ने पोष्ट बहादुर कार्कीको घटनास्थलमै आइतबार साँझ मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

स्याङजाको आँधीखोला गाउँपालिका–५ एकराय भित्री सडकमा ग.१ त ६४४० नम्बरको ट्याक्टर आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक तनहुँ भानु नगरपालिका–५ बस्ने ३८ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने ३४ वर्षीय रेशम गुरुङको जिल्ला अस्पताल हुँदै थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित सडकमा रोकी राखेको लु.२ त ९७९९ नम्बरको ट्क्याटरमा लु.३३ प ७६१५ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका–८ पकले बस्ने ४८ वर्षीय चन्द्र प्रसाद अर्यालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया