आइतबार, जेठ ६, २०८१

मानिसदेखि पशुपक्षी सबै दृष्टिविहीन

नेपालखोज २०७८ कार्तिक ३० गते १०:४६

काठमाडौं । संसार रहस्यमयी छ । यहाँ जमिन, पानी, बोटबिरुवा, पशुपक्षीदेखि मानिस पनि अनौठौ र रहस्यमयी किसिमका छन् । संसारमा विभिन्न आश्चर्यजनक वस्तु तथा मानव हामीले जोकोहीले काहीँ न काहीँ देखेका छौं । तर विश्वमा यस्ता गाउँहरू छन्, तिनीहरूको बारेमा पढ्दा वा सुन्दा हामीलाई आश्चर्य लाग्छ । नेपालमा पनि फरक संस्कृति र रहनसहन भएका मानिसहरू केही गाउँहरूमा पाउन सकिन्छ । हाम्रै छिमेकी मुलुक भारतमा यस्ता केही अनौठा गाउँहरू छन्, जसको बारेमा सुन्दा वा पढ्दा हामी चकित हुने गर्छौं ।

पहिलो आश्चर्यजनक तथा रहस्यमयी गाउँ हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा रहेको मलाणा हो । यो गाउँ आफैंमा रहस्यमयी छ । यस गाउँमा कोही पनि व्यक्तिले कुनै पनि चिज छुन अनुमति छैन । कुनै चिज छोएमा एक हजारदेखि २५ सयसम्म जरिवाना लिइने भनेर ठाउँठाउँमा बोर्डहरू राखिएका छन् ।

मलाणा गाउँका बासिन्दा आफूले आफूलाई नै सर्वश्रेष्ठ मान्ने गर्छन् । कोही बाहिरबाट गएको मानिसले उनीहरूले बनाएको मन्दिर, घर, गोठ, पसल वा उनीहरूको स्वामित्वमा रहेको कुनै चिज छोए मात्रै ठूलो धनराशिको जरिवाना तिराउने गरिन्छ । यहाँका बासिन्दा देशको संविधान पनि मान्दैनन् । आफैंले बनाएको सामाजिक कानुनमा चल्छन् ।

गाउँलेको आफ्नै सदन र नियम–कानुन छ । नियम–कानुनको अक्षरशः पालन गर्ने गर्छन् । उनीहरूमा सामाजिक नियम तोडे देवता रिसाइ पूरै गाउँ विध्वंश हुनसक्छ भन्ने विश्वास छ । गाउँलेका विश्वासका आधारमा संविधान नमाने पनि भारत सरकारले कडाइ भने गरेको छैन ।

मलाणा गाउँका मानिस जमलु नामका ऋषिको पूजा गर्छन् । जमलु ऋषिले नै मलाणा गाउँ बनाएको जनविश्वास छ । त्यहाँको इतिहासअनुसार जमलु ऋषिले गाउँको नियम–कानुन बनाएका थिए । जमलु ऋषिलाई आर्य भन्दा पनि पहिलेदेखि पूजा गर्दै आएको विश्वाश छ । यस गाउँको वर्णन पुराणमा पनि उल्लेख भएको बताइन्छ ।

भारतको अर्को एक रहस्यमयी गाउँ हो महत्तुर । ३५ सय जनसंख्या रहेको यस गाउँका हिन्दु र मुस्लिम सबैले संस्कृत भाषा बोल्छन् ।

यहाँका केही मानिसहरू आफूलाई आर्यको वंशज मान्छन् । केहीले सिकन्दरको वंशज मान्ने गर्छन् । गाउँलेका अनुसार सिकन्दरले यहाँ आक्रमण गर्दा उनका केही सैनिक यहीँ बस्ती बनाएर बसेका हुन् । बाह्य पर्यटकहरूलाई यो गाउँमा बस्ने अनुमति भने छैन । पर्यटकहरू गाउँदेखि केही टाढा टेन्ट बनाएर बस्ने गर्छन् ।

भारतमा अर्को एउटा गाउँ छ, त्यसको नाम हो टिल्टेपक । यहाँका मान्छेदेखि पशुपक्षी सबै दृष्टिविहीन छन् । यस गाउँमा जोपोटेक नामका जनजाति बस्ने गर्छन् । यिनीहरू अधिकांश दृष्टिविहीन छन् । केही मानिसले मुस्किलले मात्रै आँखा देख्छन् । मानिस मात्रै होइन, यहाँका अधिकांश पशुपक्षी पनि दृष्टिविहीन छन् । जन्मिएको केही समयसम्म सबैले राम्रोसँग आँखा देखे पनि विस्तारै आँखाको ज्योति गुम्ने गरेको छ ।

No description available.

टिल्टेपकका बासिन्दा दृष्टिविहीन हुनुको प्रमुख कारण लावजुयजा नामको रूख देख्नु रहेको उनीहरूको विश्वास छ । नजिकै घना जंगल छ । जहाँ लावजुयजा नामक रूखको प्रशस्त छन् । यस्तै ठाउँठाउँमा यो जातका रूखका बिरुवाहरू उम्रिने गरेका छन् । मानिसका साथै जनावर र चराले पनि यो रूख देखे दृष्टि गुमाउने स्थानीय बासिन्दाको विश्वास छ ।

तर वैज्ञानिकहरूले भने स्थानीय बासिन्दाको भनाइ अस्वीकार गर्छन् । वैज्ञानिकहरूले यस क्षेत्रमा दृष्टिविहीन हुनुको प्रमुख कारण त्यहाँ पाइने सानो आकारको एक प्रजातिको कालो झिँगालाई लिएका छन् । यो झिँगा धेरै विषालु हुने वैज्ञानिकहरू बताउँछन् । जब यसले मानिसलाई टोक्छ, यसको विष शरीरमा फैलिने गर्छ । यसको असर सीधा आँखाको नसामा पर्छ । वैज्ञानिकहरूका अनुसार यो झिँगाको विषको असरले मानिस, पशुपक्षी पूर्ण रूपमा दृष्टिविहीन हुने गर्छन् ।

अर्को एउटा आश्चर्यको कुरा, ७० झुपडी बस्ती भएको यस गाउँमा कसैको घरमा पनि ढोका लगाउने चलन छैन । लगभग तीन सय मानिसको बसोबास रहेको यहाँका सबै बासिन्दा दृष्टिविहीन भएकैले कसैको घरमा ढोका नबनाइएको हो ।

भारतको अर्को एक रहस्यमयी गाउँ हो महत्तुर । पाँच सय परिवार रहेको यस गाउँमा हिन्दु र मुस्लिम दुवैैले संस्कृत भाषा बोल्ने गर्छन् । कर्नाटकको राजधानी बेंगलुरुदेखि करिब तीन सय किलोमिटर दूरीमा महत्तुर गाउँ छ । ३५ सय जनसंख्या रहेको यस गाउँमा हिन्दु–मुस्लिम दुवै धर्मावलम्बीका बालबालिकालाई १० वर्षको उमेरदेखि नै वेद पढाउने गरिन्छ ।

महत्तुरका बासिन्दाका अनुसार लगभग ६ सय वर्षपहिले केरलाबाट केही ब्राह्मण आएर यहाँ बसोबास गरेका थिए । ब्राह्मण समुदायका मानिस आएदेखि यहाँ संस्कृत बोल्न सुरु भएको बताइन्छ । सबै मानिसले संस्कृत पढ्ने यस गाउँमा ४० वर्ष पहिले पेजाबर मठका धार्मिक गुरुले संस्कृतभाषीको गाउँ बनाउने अभियानको घोषणा गरेका थिए । उनले संस्कृत बोल्ने अभ्यास हिन्दु–मुस्लिम सबैलाई गराएका थिए । विस्तारै सबै मानिस संस्कृतभाषी हुन थालेको गाउँलेको भनाइ छ ।

यस्तै मध्येप्रदेशमा पनि एउटा अर्को गाउँ छ, जहाँ मानिसहरू संस्कृतमा कुराकानी गर्ने गर्छन् । यो राजगढ जिल्लाको झिरी नामको गाउँ हो । एक हजार जनसंख्या रहेको यस गाउँमा ७० प्रतिशत मानिसहरू संस्कृतभाषी छन् । यस गाउँमा ७० प्रतिशत जनसंख्या ब्राह्मणको छ । यस गाउँमा ब्राह्मणको साथै क्षेत्री र दलित जातिका मानिस पनि बसोबास गर्छन् । उनीहरू पनि संस्कृतमा नै कुराकानी गर्ने गर्छन् ।

यस्तै भारतको अर्को एउटा रहस्यमयी गाउँ कुलधरा हो । करिब १७० वर्षपहिले यस गाउँका सबै मानिस रातरात यस गाउँलाई छाडेर हिँडेका थिए । इतिहासअनुसार यस गाउँका शासक सलिम सिंहले युवतीहरूमाथि ज्यादती गर्ने गर्थे । राजा सलिम सिंहले गाउँलेमाथि पनि अत्याचार गर्थे । राजासँग गाउँले प्रतिकार गर्न सक्दैन थिए । अन्ततः गाउँले रातारात गाउँ छाड्ने निधो गरे । घरका भत्किएका संरचना मात्र देखिने यो गाउँ उजाड देखिन्छ । स्थानीय बासिन्दा गाउँ छाड्नुअघि यस ठाउँमा कोही बस्नु नपरोस् भनेर श्राप दिएका थिए । गाउँ छाडेकाको श्रापदेखि डराएर अहिलेसम्म कसैले पनि बसोबास गरेका छैनन् ।

No description available.

भारतको अर्को रहस्यमयी गाउँ केरलाको कोडिन्ही हो । यो गाउँलाई जुम्ल्याहा मानिसको गाउँ भनेर चिनिन्छ । यस गाउँमा २५ प्रतिशत महिलाले २ देखि ३ सम्म शिशुलाई जन्म दिने गर्छन् । मुस्लिम समुदायको बाहुल्य रहेको यस गाउँको जनसंख्या दुई हजार छ ।
–भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया