आइतबार, जेठ ६, २०८१

अस्ट्रेलियाको रेल, अफगानी नाम !

‘घान’ लाई पर्यटक बोक्ने रेलका रूपमा पनि लिने गरिन्छ । २,९७९ किलोमिटरको यात्रा तय गर्न यसलाई ५४ घण्टा लाग्छ ।

नेपालखोज २०७८ मंसिर ४ गते ११:४८

विश्वकै लामो रेल अस्ट्रेलियामा, लम्बाइ झन्डै डेढ किलोमिटर


काठमाडौं । संसारमा धेरै किसिमका रेलहरू छन् । रेलमा विभिन्न आश्चर्यजनक सुविधा दिइएका हुन्छन् । संसारमा कुनै रेल धेरै छोटा हुन्छन्, कुनै रेल धेरै लामा हुन्छन् । धेरै छोटा र धेरै लामा रेलले विश्व रेकर्ड बनाएका छन् । संसारमा सबैभन्दा लामो रेलको विश्व रेकर्ड बनाउने रेल अस्ट्रेलियामा गुड्ने गर्छ ।

निकै टाढा अग्लो ठाउँबाट हेर्दा लामो सर्प हिँडे झैं लाग्ने अस्ट्रेलियामा गुड्ने रेल संसारको सबभन्दा लामो र सबैभन्दा खतरापूर्ण पनि हो । यस रेलमा यात्रा गर्दा मानिसहरू आधुनिक रेल यात्राको आराम महसुस गर्ने गर्छन् । यस्तै यस रेलले अचम्मको परिवर्तनशील अस्ट्रेलियाली परिदृष्यको आनन्द पनि यात्रुलाई दिने गर्छ ।

अस्ट्रेलियामा चल्ने विश्वकै लामो रेलको नाम ‘द घान’ हो । १,३२५ मिटर लामो यो रेल अस्ट्रेलियाको पूर्वी सीमानादेखि पश्चिम सीमानासम्म गुड्ने गर्छ । यस रेलमा २२६ यात्रुवाहक डिब्बा छन् । यसलाई संसारको सबैभन्दा लामो यात्रुवाहक रेलका रुपमा पनि लिने गरिन्छ ।

अस्ट्रेलियाको ‘द घान’ लाई आरामदायी यात्रुका साथै युद्धमा प्रयोग गरिने रेलका रुपमा लिने गरिन्छ । ‘द घान’ दोस्रो विश्व युद्धका बेला शस्त्रअस्त्र बोक्न धेरै प्रयोग गरिएको थियो । अस्ट्रेलियाको पूर्वदेखि पश्चिम जोड्ने रेल भएकाले हतियार बोक्न पनि यो उत्तिकै प्रयोग हुने गरेको छ । दोस्रो विश्वयुद्धका बेला हतियार, खाद्यान्न, हतियार र सेना बोक्न प्रयोग गरेर रेल कम्पनीले बढी नाफा कमाएको थियो ।

आजभोलि पनि हतियार तथा सेना ओसारपसार गर्नका लागि यो रेल उत्तिकै भरपर्दो छ । गोप्य रुपमा हतियार बोक्ने रेल भएकाले यसलाई विश्वको खतरापूर्ण रेलका रुपमा लिने गरिन्छ । रेल रोक्न ठाउँठाउँमा स्टेसन हुन्छन् । रेल छुट्ने मुख्य प्लेटफर्म हुन्छ तर, यो रेल आवतजावत गर्ने मुख्य प्लेटफर्म पनि छैन । रेल लामो भएकै कारणले प्लेटफर्म नबनाइएको हो । यो रेल विभिन्न स्टेसनमा रोकिने गर्छ । गन्तव्यमा पुगेपछि फर्किनका लागि घुमाउरो किसिमको ठूलो रेल्वे लिक भने बनाइएको छ ।

‘घान’ लाई पर्यटक बोक्ने रेलका रूपमा पनि लिने गरिन्छ । यो जुन एडिलेड, एलिस स्प्रिंग्स, डार्बिन र एडिलेड-डार्बिन रेल करिडोरमा गुड्ने गर्छ । २ हजार ९ सय ७९ किलोमिटर लामो सडकमा गुड्न यसलाई लगभग ५४ घण्टा लाग्छ । घानलाई विश्वको उत्कृष्ट यात्रुवाहक रेलका रुपमा पनि लिइने गरिएको छ ।

घान एक्सप्रेस नामको उत्पत्ति सन् १८९० मा ठट्टाका रूपमा रेलका कर्मचारीहरूबाट भएको थियो । यो रेल भर्खरै सुरुवात भएका बेला एकपटक एकजना अफगानिस्तानका नागरिक मात्र यात्रुका रुपमा थिए । रेलका कर्मचारीहरूले अफगानी नागरिकसँग हाँसीमजाक गरे । अन्ततः सन् १८७८ देखि सञ्चालन भएको यो रेलको अधिकारिक नाम सन् १८९१ मा ‘द घान’ राखियो । अस्ट्रेलियाको सरकारले आधिकारिक रूपमा अफगानिस्तान शब्दमा आधारित हुँदै रेलको नाम घान राखेको हो ।

प्रतिक्रिया