सोमबार, फागुन १४, २०८०

मुलुकको परिवर्तन प्रचण्ड साहसबाट सम्भव भयो : जनार्दन शर्मा

नेपालखोज २०७८ मंसिर ४ गते १२:५७

काठमाडौं । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन् ।

पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताए । नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्चाइलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टीनिकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले त्यसो गर्दा मात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने दाबी गरे ।

नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्न पनि सञ्चारमाध्यमहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए । उनले भने, ‘सत्य के हो ? त्यसलाई स्थापित गर्नुस् । जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् । त्यो स्थापित गर्दा त्यहाँ कुन–कुन पात्र आईपुग्छन, त्यतातिर नहेर्नुस् । त्यसकारण सत्य कुरा स्थापित गर्न लाग्नुभयो भने त्यो जनताप्रति न्याय हुन्छ, राष्ट्रप्रति न्याय हुन्छ ।’

माओवादी नेता एवं अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताए ।

प्रतिक्रिया