बुधबार, फागुन ९, २०८०

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्छ’

नेपालखोज २०७८ मंसिर ५ गते १२:५४

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

आइतबार विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाइ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुझाएको ज्ञापन पत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

उनले सरकार गम्भीर बन्न सकेन भने सत्ताधारी पार्टीहरुले त्यसमा चासो र सरोकार राख्नुपर्ने बताए । अध्यक्ष नेपालले सरकारमा अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खालि रहेको भन्दै मन्त्री नपाइए एकीकृत समाजवादीले मन्त्री दिनेसमेत बताए ।

उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा राजनीतिक कारण हुनसक्ने तर त्यसैकरणले जनतालाई पीडा दिएर कर वृद्धि गर्न नमिल्ने बताए ।

अध्यक्ष नेपालले खाना पकाउने ग्याँसमा १२ दिनमा १२५ रुपैयाँ प्रतिसिलिन्डर मूल्य वृद्धि गर्नु जनतामाथि अत्याचार भएको बताए । अध्यक्ष नेपालले रक्सौलमा पेट्रोलियम पदार्थ आउने पाइपलाइन जोडिसकेपछि पनि तेलको मूल्य महंगो भइरहेकोमा अचम्म लागेको बताए ।

उनले बाटोमा हुने चोरी र नोक्शानीको बारेमा हिसावकिताव हुनुपर्ने बताए । अध्यक्ष नेपालले सरकारले करको दायरा घटाएर भएपनि जनतालाई मारमा पार्नु नहुने बताए ।

अध्यक्ष नेपालले सत्तामा हुँदा र बाहिर हुँदा पनि जनतासँग जोडिने र जनताको आवाजलाई सत्तासम्म पु¥याउने जिम्मेवारी राजनीतिक दलहरुको भएको बताउँदै सडकसँग सधैँ जोडिरहनु पर्ने बताए ।

उनले सडकसँग जोडिनु जनताको लोकप्रिय आन्दोलनग, जनभावना, जनपीडा र जनवेदनासँग जोडिनु रहेको बताए । अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी यूनियन लगायतका ५ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा भएको करको दायरा घटाइ मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेका छन् । विद्यार्थी संगठनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

प्रतिक्रिया