बिहीबार, वैशाख १३, २०८१

सपनाकै विश्वास !

नेपालखोज २०७८ मंसिर ६ गते ९:१७

काठमाडौं । नागाल्यान्ड भारतको एक सानो प्रान्तीय राज्य हो । यस राज्यको क्षेत्रफल १६ हजार ५७९ वर्ग किलोमिटर छ । नागाल्यान्डलाई भारतको सबैभन्दा सानो राज्यका रूपमा पनि लिइने गरिन्छ ।

यहाँको जनसंख्या १९ लाख ८० हजार मात्रै छ । क्षेत्रफलमा यो भारतको केही राज्यको एउटा जिल्लाबराबर मात्रै छ । यो भारतको एकमात्र राज्य हो, जहाँ ८८ प्रतिशत मानिसले इसाई धर्म मान्ने गर्छन् । हिन्दु साढे ७ प्रतिशत र मुसलमान अढाइ प्रतिशत मात्रै छन् ।

नागाल्यान्डलाई १६ वटा प्रमुख जनजातिको घर मानिन्छ । अंगामी, आओ, चाखेसाङ, चांग, कचारी, खिआम्निउँगान, कोन्याक, कुकी, लोथा, फोम, पोचुरी, रेन्ग्मा, संगतम, सुमी, यिमचुंगर र जेमे–लियांगमाई यहाँका प्रमुख जनजातिहरू हुन् । यस्तै उप–जनजातिमा गारो, मिकिर, चिर, मकुरी, रोंगमेई र तिखिर हुन् । यस्तै यस राज्यको दिमापुर सहर सेरोफेरोमा बंगाली, मारवाड़ी, नेपाली, पन्जाबी र अन्य समुदायका मानिसहरू बस्ने गर्छन् ।

No description available.

नागाल्यान्डमा धेरै जनजाति भए पनि नागा जाति बहुसंख्यक छन् । २०२० को जनगणनाअनुसार नागाल्यान्डमा २० लाख मानिस बस्छन् । राज्यमा नागा जनजातिको संख्या लगभग ९० प्रतिशत छ ।

नागाल्यान्ड उत्तरपूर्वी भारतको एउटा राज्य हो । यसको उत्तरमा अरुणाचल प्रदेश, पश्चिममा असम, दक्षिणमा मणिपुर र पूर्वमा म्यानमारको सागिङ क्षेत्र छ । यसको राजधानी सहर कोहिमा हो । यस राज्यको सबैभन्दा ठूलो सहर दिमापुर हो ।

नागाल्यान्ड १ डिसेम्बर १९६३ मा भारतको १६औं राज्य बनेको थियो । यसले १९५० को दशकदेखि विद्रोह र अन्तर–जातीय संघर्षको अनुभव गरेको छ । यस राज्यको उचित आर्थिक विकास हुन सकेको छैन ।

नागाल्यान्डको धेरै भाग घना जंगल र पहाडी क्षेत्रले ढाकेको छ । यहाँ धेरै जाडो हुने लेकाली क्षेत्र पनि छ । यस राज्यमा मे महिनादेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ ।

एक सय बढी जनजातिको आफ्नै धर्म–संस्कृति तथा परम्परा छ । यहाँ भिन्न भाषा रहेको छ । नागाल्यान्डमा एकै प्रकारको भाषा बोलिँदैन । जुन जनजाति समुदाय जहाँ बस्छ, त्यसले आफ्नो भाषा बोल्ने गर्छ । एउटै साझा भाषा सवैले बोल्न नसक्ने भएकाले एक–अर्को जातिसँग टाढा रहनुपर्ने बाध्यता छ ।

नागाल्यान्डमा बोलिने भाषाहरूमध्ये नागामिज सबैभन्दा लोकप्रिय हो । राज्यका विभिन्न आदिवासी जनजातिहरूले पनि यो भाषा बोल्ने गर्छन् । यस भाषालाई नागा जाति र असमिया भाषाको मिश्रणका रूपमा पनि लिइने गरिन्छ ।

नागाल्यान्डका जनजातिको भाषा, रहनसहन, पहिरन अन्य राज्यको भन्दा अलि फरक छ । यहाँ महिला–पुरुषले दुवै खुट्टामा ठूलो सेतो धातुको चुरा लाउने संस्कार छ । पहिरनमा यिनीहरू रंगीबिरंगीका बर्को ओढ्ने गर्छन् ।

No description available.

नागाल्यान्डका अधिकांश मानिस कुकुरको मासु खाने गर्छन् । कुकुरको मासुलाई सयौं वर्षदेखि चल्दै आएको संस्कृतिको पाटो मान्ने गरिन्छ । नागाल्यान्डका आदिवासी सपनालाई धेरै महत्त्व दिने गर्छन् । सपना देखेकै आधारमा यिनीहरूले के गर्ने के नगर्ने, व्यापारिक नाफा–घाटा आदिको अनुमान लगाउने गर्छन् ।

नागाल्यान्डमा गरी खानका लागि प्रशस्त जमिन छ । तर पनि यहाँका मानिस धेरै पिछडिएका छन् । यस राज्यका ग्रामीण भेकका मानिसहरू जंगलमा गएर सिकार गर्दै पेट भर्ने गर्छन् । अहिले पनि अधिकांश जंगल क्षेत्र भएकाले सिकार खेल्नमा यिनीहरू चाख दिने गर्छन् । केही जनजाति खेतीपातीभन्दा बढी सिकार खेल्न बढी प्राथमिकता दिने गर्छन् ।

पिछडिएको राज्य भनिए पनि राज्यले आरक्षण दिएका कारण पछिल्लो समयमा यस राज्यमा शिक्षाको स्तर भने सुध्रिएको छ । नागाल्यान्ड भूमिगत युद्ध लड्नका लागि सुरक्षित भएकाले यहाँ धेरै भूमिगत समूहहरू छन् ।

यहाँका केही जनजाति स्वायत्त राज्य हुनुपर्ने माग गर्दै सशस्त्र युद्ध पनि गरिरहेका छन् । नागाल्यान्डको प्रमुख पर्व भनेको हर्नविल फेस्टिबल हो । यो डिसेम्बर महिनामा १० दिनसम्म तामझामले मनाउने गरिन्छ ।

नागा जनजातिहरूको प्राचीन इतिहास अस्पष्ट छ । यहाँ उनीहरू विभिन्न समयमा बसाइँ सरेका थिए । प्रत्येकले वर्तमान भारतको उत्तरपूर्वी भागमा बसोबास गर्दै आ–आफ्नो सार्वभौम पहाडी भूभाग र गाउँ–राज्यहरू स्थापना गरे । तिनीहरू उत्तरी मंगोलियन क्षेत्र, दक्षिणपूर्व एसिया वा दक्षिण–पश्चिम चीनबाट आएका हुन् भन्ने आकलन गरिन्छ । बढी विश्वास भने तिनीहरूको उत्पत्ति भारतको पूर्वबाट भएको मानिन्छ ।

No description available.

नागाल्यान्डलाई भूत जोलोकिया वा भूत मरिचको घर पनि भन्ने गरिन्छ । भारतको यस राज्य सबैभन्दा बढी भूत जोलोकिया खुर्सानी उत्पादन गर्ने राज्य हो । यहाँ उत्पादित खुर्सानीले गिनिज बुकमा नाम पनि लेखाइसकेको छ ।

नागाल्यान्डका सबै जनजातिहरूको आफ्नै खाना छ । ८० प्रतिशत मानिस कृषिमा निर्भर छन् । तर सागसब्जी खान मन पराउँदैनन् । स्थानीय बारीमा उब्जाइएको जडीबुटी, घोस्ट खुर्सानी (भूत जलोकिया), अदुवा, लसुन यिनी खानामा बढी प्रयोग गर्ने गर्छन् ।

No description available.

नागा जातिको प्रसिद्ध परिकारहरूमा सुँगुरको मासु र रेशमकिराको लार्भा हुन् । जुन यहाँका अधिकांशको महँगो तथा स्वादिष्ट भोजन हो । भात, सुँगुर, कुखुरा, कुकुर, कीरा, तरकारी र प्रसिद्ध भूत जोलोकिया खुर्सानी नागाको प्रमुख आहारमा पर्छन् ।

No description available.


-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया