बुधबार, वैशाख १२, २०८१

माग सम्बोधन नभए हड्ताल गर्ने श्रमिकको चेतावनी !

मजदुरको माग- आईसीपीमा खटिने मजदुरहरुलाई ठेकेदारी प्रथाबाट खटाएर शोषण गर्ने गरिएकाले यसको अन्त्य हुनुपर्ने

नेपालखोज २०७८ मंसिर ६ गते २०:१२

काठमाडौं । विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आईसीपी) मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन् ।

आईसीपीले श्रमिक तथा मजदुरहरुलाई श्रम ऐनअनुसार सेवा सुविधा नदिइएको भन्दै समाजवादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखि भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो । संघका एकाइ अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए । उनले संघकै अगुवाइमा २०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरुअनुसारका मागहरू राखिएको भए पनि मागको सम्बोधन नभएको बताए ।

समाजवादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डलले हाल कार्यरत सम्पूर्ण कामदर तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाखबराबरको बिमा गर्नुपर्ने माग राखे ।

युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले आईसीपीमा खटिने मजदुरहरुलाई ठेकेदारी प्रथाबाट खटाएर शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने बताए । उनले श्रम स्वीकृति नलिई आईसीपीमा विदेशी कामदारहरुलाई लगाइएको समेत बताए । उनले भने, ‘आईसीपीमा काम गर्न ट्रान्स नेपाल नामक कम्पनीले दिने गरेको छ, श्रमिकहरुले श्रम ऐनअनुसार सेवा र सुविधाको तकेता गर्दा पछिल्लो समय ट्रान्स नेपाल आफ्नो कामदार नभएको भन्दै पन्छिन खोजिएको छ।’

आईसीपीमा नेपाल र भारतका गरी करिब तीन सय श्रमिक कार्यरत छन् । श्रमिकका मागबारे सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हड्तालमा जानुपर्ने बाध्यता सिर्जना भएको संघले जनाएको छ ।

प्रतिक्रिया