शुक्रबार, चैत १६, २०८०

‘ढुंगे युगमै सेन्टिनेलिज !’

नेपालखोज २०७८ मंसिर ८ गते ११:५२

काठमाडौं । मानिस समाजमा मिलेर बस्न चाहन्छ । समाजमा मिलेर बस्न चाहेकैले वर्तमान मानव विश्वको समाजसँग पनि जोडिएको छ । अझ सामाजिक सन्जालले त विश्वको समाजलाई साँघुरो नै बनाइदिएको छ । तर विश्वमा यस्ता जाति छन्, जसलाई वर्तमान परिवर्तनले कुनै प्रभाव पारेको छैन । केही वर्षअघि विश्व जनजाति महासंघले गरेको एक अध्ययनअनुसार विश्वका एक सय जनजाति आफ्नो समुदायबाहेक अरू समुदायसँग हिमचिम (सम्पर्क) गर्दैनन् । उनीहरूको रहनसहन संस्कृति फरक किसिमको छ । यस्ता जनजातिबारे धेरै कम मानिसलाई मात्रै थाह छ ।

यस्तै एक फरक स्वभाव भएको जनजाति समुदाय हिन्द महासागरको उत्तरी सेन्टिनेल टापुमा बस्ने गर्छ । सेन्टिनेलिज जाति भनेर विश्वमै परिचित यो जाति विश्वकै अनौठो जाति पनि हो । सेन्टिनेलिज विश्व समुदायबाट धेरै टाढा छ, जसलाई सेन्टिनेल र हिन्द महासागरको उत्तर सेन्टिनेल टापुमा बस्ने जनजाति पनि भनिन्छ । यो जाति विशेषगरी उत्तरपूर्वी हिन्द महासागरस्थित बंगालको खाडीमा रहेको उत्तर सेन्टिनेल टापुमा बस्ने आदिवासी हो । यो जाति भारतको अनुसूचित जनजातिमा पर्छ ।

हरदम टापुको जंगलमा बस्ने यो जातिलाई दुनियाँसँग केही मतलब छैन । आफ्नो भाषा पनि राम्रो बोल्न नसक्ने यो जातिका मानिस आफ्नै संसारमा रमेका हुन्छन् । विश्वमा भएका परिवर्तन, राजनीति केही पनि थाहा छैन ।

No description available.

सेन्टिनेलिज जनजातिले बाह्य संसारसँग कुनै पनि अन्तरक्रिया गर्न बारम्बार अस्वीकार गर्दै आएका छन् । तिनीहरू बाहिरी मानिससँग शत्रुतापूर्ण व्यवहार गर्छन् । टापुमा पुग्ने वा अवतरण गर्ने धेरै मानिसहरूलाई उनीहरूले मारेका उदाहरणहरू पनि छन् । यदि कोही बाह्य मानिस उनीहरूको समुदायमा झुकिएर पुगे ज्यानको समेत जोखिम हुने गर्छ । अपरिचित मान्छेमाथि सांघातिक आक्रमण हुन्छ, किन कि उनीहरू बाह्य मानिसलाई अलिकति पनि विश्वास नगर्ने स्वभावका हुन्छन् ।

सन् २०१८ मा घुम्दै–फिर्दे समुद्रको किनारबाट गाउँ टेकेका केही माछा मार्नेहरूलाई उनीहरूले भाला हानेर मारेका थिए । उनीहरूको बारेमा अनुसन्धान गर्न पुगेका केही, मानवशास्त्री, अनुसन्धानकर्ता र पर्यटकहरूले पनि कुटपिटबाट ज्यान गुमाउनुपरेको छ । सन् १९५० मा भारत सरकारले हिन्द महासागरको सेन्टिनल क्षेत्रलाई ‘जनजाति क्षेत्र’ घोषणा गरेको थियो । यस क्षेत्रको ६ किलोमिटरवरपर जान अन्य मानिसहरूलाई भारत सरकारले प्रतिबन्ध लगाएको छ । जनजातिको यो क्षेत्र भारत प्रशासित हो ।

No description available.

भारतले बाहिरी व्यक्तिहरू घूसपैठ गर्ने आशंकामा आजभोलि त्यो क्षेत्रमा सशस्त्र प्रहरी राखेको छ । यस क्षेत्रमा कोही पसिहाले पनि फोटो वा भिडियो लिन पनि प्रतिबन्ध छ । सन् २००४ मा महासागरमा ठूलो समुद्री आँधी आएको थियो । यिनीहरूलाई ठूलो संकट आइलाग्यो । धेरै सेन्टिनेलिज जाति सुनामीमा परेर मरे । खेतीपाती र जंगलका जनावर पनि मर्दा यिनीहरूलाई बाँच्नका लागि गाह्रो थियो ।

अनुसन्धानपछि भारत सरकारले खाद्यान्न लिएर हेलिकोप्टर पठायो । तर यिनीहरूले भाला र ढुंगा प्रहार गरी हेलिकोप्टर फर्काउन खोजेका थिए । यस ठाउँमा लगभग तीन सयसम्म मानिसहरू बस्ने गर्छन् । यस जातिको पुर्खा करिब ६० हजार वर्षदेखि यस टापुमा आएर बसेको अनुमान छ ।

No description available.

सेन्टिनेलिजहरू हिन्द महासागरका विभिन्न टापुहरूमध्ये उत्तर सेन्टिनेल टापुमा बस्छन् । यो बंगालको खाडी क्षेत्रमा पर्छ । भारतको मानवविज्ञान सर्वेक्षणद्वारा जोखिमयुक्त जनजाति समूहमा प्रकाशन गरेको एउटा पुस्तिकामा यहाँ १५० को हाराहारीमा जनसंख्या रहेको उल्लेख छ ।

सेन्टिनेलिज जाति सिकारी हुन् । तिनीहरूले वन्यजन्तुको सिकार गर्न धनु र तीरहरू प्रयोग गर्छन् । स्थानीय समुद्री खाना, केकडा नामको गँगटो र समुद्रका विभिन्न जन्तु यिनीहरूको प्रमुख खाना हुन् ।

सेन्टिनेलिज जनजाति पातले ढाकिएको छानासहित चारवटा खम्बा गाडेर बनाइएका साना अस्थायी झुपडीमा बस्छन् । उनीहरू धातुको मूल्यलाई चिन्छन् । धातुलाई औजार र हतियारहरू बनाउन प्रयोग गर्छन् । सेन्टिनेलिज जातिको केही व्यवहार हेर्दा ढुंगेयुगभन्दा बाहिर विकसित भएका छैनन् । यो जातिलाई कृषि गरेर जीवन निर्वाह हुन्छ भन्ने पनि राम्रो ज्ञान नभएको विभिन्न भारतीय अनुसन्धानहरूले देखाएका छन् ।

No description available.
No description available.

-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया