मंगलबार, वैशाख ११, २०८१

भारतले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउने !

नेपालखोज २०७८ मंसिर ८ गते १३:०६

काठमाडौं । भारतीय मिडियाहरूका अनुसार भारत सरकारले क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतले सबै निजी क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन लागेको हो । सरकारले संसद्‌को आगामी हिउँदे अधिवेशनमा क्रिप्टोकरेन्सीसम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारी रहेको समाचारमा जनाइएको छ । मिडियामा यो खबर आएसँगै हिजो (मंगलबार) सबै प्रमुख क्रिप्टोकरेन्सीको मूल्यमा १५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।

मंगलबार बिटक्वाइन (Bitcoin) मा करिब १५ प्रतिशत, Ethereum मा १२ प्रतिशत, Tether मा करिब ६ प्रतिशत तथा यूएसडी क्वाइनमा करिब ८ प्रतिशतले गिरावट आएको छ ।

आज (बुधबार) पनि क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट जारी छ । बुधबार बिहान wazirx.com मा बिटक्वाइनले करिब ११ प्रतिशत, Shiba Inu (SHIB) ले करिब १७ प्रतिशत, टिथर (USDT) ले करिब १२ प्रतिशत, ETH (Ethereum) ले करिब ९ प्रतिशत तथा डगक्वाइनले करिब ११ प्रतिशत गिरावटका साथ कारोबार गरिरहेका छन् ।

सबै निजी क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन भारत सरकारले संसद्‌को हिउँदे अधिवेशनमा ‘द क्रिप्टोकरेन्सी एन्ड रेगुलेसन अफ अफिसियल डिजिटल करेन्सी बिल २०२१’ (The Cryptocurrency & Regulation of Official Digital Currency Bill, 2021) प्रस्तुत गर्न लागेको छ ।
भारत सरकारले उक्त बिलमा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का तर्फबाट सरकारी डिजिटल करेन्सी मात्र चलाउने व्यवस्था गर्न लागेको बताइन्छ । यो कुरा भारतीय संसद् लोकसभाको बुलेटिनमा सरकारले दिएको जानकारीका रुपमा प्रकाशितसमेत भइसकेको छ ।

अहिले भारत अतिरिक्त नेपाल, पाकिस्तान, बंगलादेशसहित इन्डोनेसिया आदि देशमा क्रिप्टोकरेन्सीमा लगानी गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । मानिसहरु ठूलो परिमाणमा क्रिप्टोकरेन्सीमा लगानी गर्न हौसिँदै गएका छन् । क्रिप्टोकरेन्सीको मूल्यमा निकै ठूलो उतारचढाव देखिन्छ । यो कारोबार कहाँ सुरु हुन्छ र कहाँबाट सञ्चालित हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । त्यसैले पनि यसको कारोबार रोकिनुपर्ने आवाज उठ्दै आएको छ । नेपालमा क्रिप्टोकरेन्सीको कारोबार प्रतिबन्धित भए पनि प्रविधिको दुरुपयोग गरेर यसको कारोबारमा सम्लग्न संलग्नहुनेहरू लगातार बढिरहेको बताइन्छ ।

प्रतिक्रिया