सोमबार, फागुन १४, २०८०

अवैध ढंगले कोरिया पठाउन लागिएका युवा एजेन्टको ठगीबाट जोगिए

नेपालखोज २०७८ मंसिर ८ गते १४:२२

काठमाडौं । विभागिय मन्त्रीले चासो देखाउँदा वैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगिबाट जोगिएका छन् । भाषा परीक्षा उत्तिर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सूचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका हुन् ।

वैदेशिक रोजगारीमा जान चाहनेहरुले एजेण्टबाट भोग्नु परेका समस्याका बारेमा संञ्चारमाध्यममा समाचार आउने गरे पनि त्यसबारे मन्त्री स्वयम्ले चासो देखाउने गरेका थिएनन् । तर मन्त्री श्रेष्ठ भने कोरिया पठाउदै आएका एजेन्टले बन्धक जसरी राखेका युवालाई भेट्न आफै होटल पुगेका थिए ।

मंगलबार राती मन्त्रीको मोबाईलमा आएको सूचनाका आधारमा श्रेष्ठ सुरक्षाकर्मी, श्रम विभागका अधिकारीसहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुगेका थिए । बुधबार साँझ कोरिया उड्न लागेका दजनौँ युवाहरुलाई अनिवार्य सात दिन क्वारेन्टीन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा राखिएको थियो । पीडित युवाहरुले आफुहरुलाई एजेण्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसंग गरेका थिए ।

पीडितहरुको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारवाही गर्न निर्देशन पनि दिएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरुले भोग्नु परेको समस्याबारे थप छानविन हुने र भविष्यमा यसता दुख भोग्न नपर्ने वातावरण निर्माण गर्ने आवश्वासन दिए ।

पीडित युवा शंकर नेपालले होटल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सूचना पुर्‍याएको उल्लेख गर्दै सामान्य नागरिकले दिएको सानो सूचनाको आधारमा मन्त्री आफैं आएर समस्या सल्ट्याइदिएकोमा खुशी व्यक्त गरे ।

उनले सरकारी संयन्त्रमा भएका सबैले मन्त्री श्रेष्ठले जसरी कर्तव्य निर्वाह गरे नागरिकले दुःख, कष्ट भोग्नु नपर्ने बताए । भाषा परीक्षा पास गरेका युवाहरु बुधवार साँझ कोरिया प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया