शुक्रबार, चैत १६, २०८०

९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपालखोज २०७८ मंसिर ८ गते २२:३४

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेन्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना ९७४ मा आधारित जीएसएममा आधारित नम्बर बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।

टेलिकमले यसअघि सीडीएमएमा प्रयोग हुँदैआएको ९७४ र ९७६ रेन्जमा आधारित नम्बरलाई जीएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो । त्यसमध्ये ९७४ मा आधारित भएर जीएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार सञ्चालक समितिले टेलिकमले स्वीकृतबिना नम्बर वितरण गरेकाले एकपटकका लागि सचेत गराउने र आगामी दिनमा सोही प्रकारका कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही हुनेछ ।

यस्तै सञ्चालक समितिले टेलिकमलाई पुनः नम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ बाट हाल वितरण भइसकेको नम्बरको अलावा थप नम्बर वितरण नगर्न निर्देशन दिएको हो ।

नम्बर प्रयोगकर्तालाई वितरण भएपछि उक्त नम्बर दीर्घकालीन रूपमा प्रयोग हुने भएकाले अस्थायी रूपमा प्रदान गरिएको नम्बरिङ रेन्ज ९७६ स्थायी रूपमा प्रदान हुनेछ । सीडीएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिमकले गत साउनदेखि सीडीएमएबाट जीएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । नेपामा हाल करिब तीन लाख २० हजार सीडीएमए प्रयोगकर्ता छन् ।

फाइभजी परीक्षणको जिम्मा
प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीको परीक्षण सेवा सञ्चालन गर्न अनुमति दिएको छ । कात्तिक २९ गते बसेको प्राधिकरण बोर्डले ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ बमोजिम हुनेगरी टेलिकमलाई फाइभजीको ट्रायलका लागि स्वीकृति दिने निर्णय गरेको हो ।

परीक्षणका लागि आवश्यक पर्ने उपकरण जडान कार्य सम्पन्न गरी प्राधिकरणलाई जानकारी गराउने सर्तमा थप फ्रिक्वेन्सी ब्यान्डविथ आवश्यक भएमा पछि उपलब्ध गराइने गरी हाललाई २६०० मेगाहर्ज ब्याण्डमा २५००-२५६० मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डविथ एक वर्षका लागि निःशुल्क प्रदान गर्ने निर्णय गरेको हो । -रासस

प्रतिक्रिया