मंगलबार, वैशाख ४, २०८१

महिलामाथिको हिंसा घरभित्रैबाट !

नेपालखोज २०७८ मंसिर ९ गते १४:३८

काठमाडौं । ‘घर र समाजको ऐक्यवद्धता, लैङ्गिक हिंसाविरुद्ध शून्यसहनशीलता’ भन्ने नारासहित नेपालमा ३०औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान २०२१ सुरु भएको छ । बिहीवार काठमाडौंको माईतीघरबाट महिलाको निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाजलगायतका संघ–संस्थाहरुले नेपालमा ३०औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान २०२१ सुरु गरेका हुन् ।

अभियानमा सहभागीहरुले महिलाहरुमाथि कुनै पनि लैङ्गिक विभेद हुनु नहुने बताएका छन् । उनीहरुले महिला आन्दोलनबाट प्राप्त गरेका अधिकारलाई सम्मान गर्दै आगामी दिनमा अझ बढी संघर्ष गर्नुपर्ने तर्फ सचेत गराउनलाई १६ दिने महिला हिंसाविरुद्धको अभियान सुरु गर्नु परेको बताएका छन् ।

समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा घरभित्रै हिंसाको विकराल अवस्था सिर्जना भइरहेको पनि उनीहरुको भनाइ छ । कार्यक्रममा सहभागी बनेकाहरुले महिला हिंसाको मुद्दालाई अहिलेसम्म महिलाको मुददको रुपमा मात्रै हेरिएको भन्दै यसलाई समान मुद्दाको रुपमा हेरिनु पर्ने माग गरेका छन् ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले कानुन शब्दमा बलियो भए पनि कार्यान्वयनमा फितलो भएको भन्दै महिलाहरुको हक सुरक्षित गर्नका लागि कार्यान्वयनमा लैजान सुझाव दिएका छन् । उनीहरुले कानुनको कार्यान्वयन गरेर महिला हक, हित र रोजगारी सिर्जना गरेपछि मात्रै महिलाहरु समान हुन सक्ने बताए ।

समाज परिवर्तन गर्न भनेर लागि रहँदा आफ्नो घर र परिवारमा आफूले महिलाहरुमाथि गरिरहको व्यवहार कस्तो छ भनेर सोच्न र महिलालाई सम्मान गर्दै आफूले पढेका कुराहरु व्यवहारमा लागु गर्न सके समाज परिवर्तन हुन समय नलाग्ने उनीहरुको भनाइ छ ।

उनीहरुले महिलाको नेतृत्व स्वीकार गर्,महिला दोस्रो दर्जाका होइनन्, सबै मिलि गरौँ प्रतिकार, कसैले अब नसहौँ बलात्कार, मेरो आमा महिनावारी नभएको भए म जन्मने थिइनँ, आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्नलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया