बुधबार, वैशाख २६, २०८१

नेता लिङ्देनले गरे राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

नेपालखोज २०७८ मंसिर ९ गते १५:०४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा ‘उम्मेदवार घोषणा कार्यक्रम’ को आयोजना गर्दै नेता लिङ्देनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले राप्रपा खिइनु र दुब्लाउनुमा अहिलेको अवस्थाभन्दा ठाउँ नरहेको भन्दै राप्रपाको ३१ वर्षको इतिहास असफलताको इतिहास भएको बताए । पार्टी एकिकरण भएपनि अध्यक्षत्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेकोले वर्तमान नेतृत्वबाट पार्टी अगाडी बढ्न नसक्ने बताए ।

आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरिक्षा भएको उल्लेख गर्दै उनले पार्टीमा रहेको परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए । पार्टी नेता तथा कार्यकर्ताहरुलाई यो नेता र त्यो नेताको मान्छे भन्ने दाग नलगाई राप्रपाको स्वाभिमानी कार्यकर्ता बनाउन चाहेको उनको भनाई छ । राप्रपाले कांग्रेस र कम्युनिष्ट पार्टीले गर्न नसकेको काम गर्ने उनले दाबी गरे ।

नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा सबै पार्टीभित्र उठिरहेको भएपनि अब त्यसको नेतृत्व राप्रपाले सुरु गर्ने उनले बताए । उनले नेतृत्व लिने मात्रै होइन नेतृत्व हस्तान्तरणपनि सजिलै गर्ने व्यवस्था अघि सारेको पनि उल्लेख गरे ।

नेता लिङ्देनले आफ्नो उम्मेदवारी कुनै नेताहरुको विरुद्धमा नभएको स्पष्ट पारे । उनले आफुलाई गौरवका साथ स्वीकार गर्न पार्टीका अध्यक्षत्रयलाई आग्रह गरे । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अध्यक्षत्रयलाई अविभावकिय भूमिकामा बस्न उनले अपिल गरे । राप्रपाको भविष्यको सुरक्षाको लागि आफुले पार्टी अध्यक्षमा उम्मेदवारी दिएको उनले बताए ।

पार्टी अध्यक्षमा नेता लिङ्देनलाई प्रस्ताव गर्दै राप्रपाका नेता धवल शमशेर राणाले पार्टीलाई उठाउने जिम्मेवारी लिनुपर्ने भएकाले नेतृत्व परिवर्तन गर्नु आवश्यक रहेको बताए । राप्रपाको नेतृत्व परिवर्तन गरेमात्रै पार्टीको भविष्य हुने उनले बताए ।

नेता राणाले हजारौँको संख्यामा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा जनलहर आएकाले राजनीतिकरुपमै राजतन्त्र र हिन्दू राष्ट्रको मूल्य मान्यतालाई स्थापित गराउनु पर्ने बताए । उनले पार्टीभित्र र बाहिर सबैले नेता लिङ्देनलाई मान्ने गरेकाले आफुहरुले अध्यक्ष पदका लागि अगाडी सारेको बताए ।

प्रतिक्रिया