शनिबार, वैशाख १५, २०८१

४० वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई सेयर बाँडिने

नेपालखोज २०७८ मंसिर १० गते ९:५७

काठमाडौँ । ४० वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षदेखि नाफा कमाउन सफल भएको छ । २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५\७६ देखि नाफा कमाउन थालेको हो । यस कम्पनीले पहिलोपटकको नाफामा कर तिरेर एक करोड ९२ लाख कमाएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । त्यसको अर्को वर्ष अर्थात् आव २०७६\७७ मा यस कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो ।

आव २०७७\७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा छ । सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये नाफामा रहेको यो एकमात्र संस्था भएको अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थानसम्बन्धी प्रगति प्रतिवेदनमा उल्लेख छ । कम्पनीले आव २०७६\७७ देखि शेयरधनीलाई लाभांश पनि दिन थालेको थालेको छ । गत आवको लेखापरीक्षण सम्पन्न भएपछि सर्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारीमा पनि कम्पनी लागेको छ ।

हाल सरकारी निकायमात्र कम्पनीको शेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको शेयर सदस्यका रूपमा छन् । सर्वसाधारणलाई पनि शेयर बिक्री गरेर कम्पनीको पूँजी वृद्धि गरी जडीबुटी उद्योग प्रवद्र्दन गर्ने लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको छ ।

नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छन् । वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ । हाल ३०० वनस्पति व्यापारिकरूपमा प्रयोग भइरहेको छ । यसमध्ये कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको महाप्रबन्धक कार्की बताउँछन् ।

विश्व बजारमा सुगन्धित तेलको माग वार्षिक १७.२ अर्ब अमेरिकी डलर बराबरको छ । सन् २०२७ सम्म वार्षिक ७.५ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । नेपालले सन् २०१५ मा ५० लाख डलर बराबरको सुगन्धित तेल निर्यात गरेको थियो । यो विश्व बजारको मागको ०.०२ प्रतिशतमात्र हो ।

उद्देश्य प्राप्तिका लागि कम्पनीलाई गत वर्ष सरकारले लगानीस्वरुप १८ करोड रुपैयाँ दिएको थियो । महाप्रबन्धक कार्कीले कम्पनीको विकास एवं विस्तार तथा संरचनात्मक सुधारका लागि वन तथा वातावरण मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पेश गर्नुभएको व्यापारिक योजनाअनुरुप सो रकम लगानी गर्न प्राप्त भएको हो । १० करोड रुपैयाँ शेयरका रूपमा आठ करोड रुपैयाँ ऋणस्वरुप सरकारले प्रदान गरेको हो । यसबाट कम्पनीको विस्तार तथा विकासका काम भइरहेको जनाइएको छ ।
उत्पादन भवन अन्तिम चरणमा

कम्पनीका जडीबुटीजन्य उत्पादन र यसका संरचनासमेतलाई आधुनिकीकरण र व्यावसायिक बनाउन उत्पादन भवन निर्माण अन्तिम चरणमा पुगेको छ । परम्परागतरूपमा हाते प्रविधिबाट उत्पादन भइरहेका सामग्रीलाई स्वचालित यन्त्रको प्रयोग गरी ‘फिलिङ तथा क्यापिङ’ गरेर उत्पादन बढाइने भएको छ । यसका लागि नयाँ यन्त्र खरिदको प्रक्रिया अघि बढेको छ ।

नयाँ यन्त्रका माध्यमबाट उत्पादनको लागत घटेर क्षमता वृद्धि हुनेछ । यो भवनभित्र आधुनिक प्रयोगशाला कक्षको निर्माण भइरहेको छ । राम्रो प्रयोगशाला अभ्यासमा आधारित भएर कक्ष निर्माण गर्न लागिएको हो । कम्पनीका उत्पादनको गुणस्तर मापन तथा नियन्त्रणको काम प्रयोगशालाले गर्नेछ ।

प्रतिक्रिया