शुक्रबार, वैशाख १४, २०८१

पृथ्वीनारायण शयन कक्षको पुनर्निर्माण अन्तिम चरणमा

नेपालखोज २०७८ मंसिर १० गते १३:३७

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको पृथ्वीनारायण शाहको शयन कक्ष पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेपछि हनुमानढोका दरबार क्षेत्रमा शयन कक्ष निर्माण भएको थियो । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त कक्ष पुनर्निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिएका छन् । कक्षको बाहिरी भागको पुनर्निर्माणका सबै काम सकिएको छ । भित्र सजावटका काम मात्र बाँकी छ ।

अड्डाले नै ठेक्का गरी दुई करोड ५८ लाख ४५ हजार ६ सय २३ को लागतमा कक्ष पुनर्निर्माण भइरहेको इन्जिनियरिङ रोशन डंगोलले जानकारी दिए । २०७७ जेठ ९ गते पुनर्निर्माण सुरु भएकामा २०७९ साल जेठ ८ गतेसम्म पुनर्निर्माणको अवधि बाँकी रहेको उनले जनाए । पचली भैरव एन्ड मनकामना निर्माण सेवाले यो सम्पदा पुनर्निर्माणको काम सम्झौताको समय अगाडि सक्ने दाबी गरेको छ ।

कक्षसँगै पृथ्वीनारायण शाहले नुवाकोटबाट कान्तिपुर विजयका लागि हिँड्नुअघि ल्याएको कँडेल भगवतीको मन्दिर पनि छ । कान्तिपुर विजय भएमा भगवतीलाई यहीँ स्थापना गर्ने वाचासहित पृथ्वीनारायणले भगवतीलाई ल्याएको इतिहासविद्को भनाइ छ ।

भगवतीलाई अहिले पनि चैत महिनामा जात्राका लागि नुवाकोट लैजाने परम्परा छ । पहिले पैदल नै भगवतीको मूर्ति जात्राका लागि नुवाकोट लैजाने गरिएकामा अहिले सवारीमार्फत लगिन्छ । नुवाकोटबाट लगेर स्थापना गरिएकाले वर्षमा एकपटक चैतमा जात्राका लागि देवीलाई मूल थलोमा लैजाने गरिएको हो ।

प्रतिक्रिया