मंगलबार, जेठ १, २०८१

चुनढुंगाको जथाभावी उत्खननले स्थानीयवासी हैरान

नेपालखोज २०७८ मंसिर ११ गते १३:४४

वाग्मती । हेटौँडा उपमहानगरपालिका–१५ मा सञ्चालित ऋद्दिसिद्दी सिमेन्ट उद्योगले सञ्चालन गरेको चुनढुंगा खानीका कारण स्थानीयवासी हैरान भएका छन् ।उद्योगले मापदण्डविपरीत चुनढुंगा खानी क्षेत्र उत्खनन गर्दा राक्सिराङ गाउँपालिकाका स्थानीय बासिन्दा सस्यामा परेका हुन् ।

चुनढुंगा उत्खनन कार्यले खानी क्षेत्रको आसपासको सडक बिग्रने, भत्किने, धुलोधुवाँ उड्ने, ध्वनि प्रदूषणलगायत वातावरणीय समस्याबाट स्थानीयवासी पीडित भएकाले उत्खनन कार्य तत्काल रोक्न स्थानीयवासीले माग गरेका छन् ।

राक्सिराङ गाउँपालिका–४ का वडाध्यक्ष सञ्जय कोइरालाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई आज एक ज्ञापनपत्र वुझाउँदै उत्खनन कार्य तत्काल रोक्न माग गरेका छन् । सो उद्योगको राक्सिराङ गाउँपालिका–४ मा चुनढुंगा खानी रहेको र त्यसका लागि मापदण्डविपरित उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेकाले त्यस्ता कार्य तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई पाँच बुँदै ज्ञापनपत्र बुझाइएको उनले प्रष्ट पारेका छन् ।

चुनढुंगा निकाल्दा पन्छाएका अन्य ढुंगा, गिटी, माटो खेतबारीमा फाल्ने गरेका कारण पनि स्थानीयवासी समस्या भोग्न बाध्य भएका छन् । विशेषगरी सिमेन्ट उद्योगद्वारा सञ्चालित चुनढुंगा खानीका क्षेत्रमा दिनहुँ उत्खनन गर्दा हेवी मेसिन उपकरणको प्रयोग, टिपरको आवतजावत हुनेहुँदा सडक बिग्रिएकाले स्थानीयवासीमा समस्या हुँदै आएको छ ।

खानीमा उत्खनन गर्दा पाँच प्रतिशत चुनढुंगा निकाल्नका लागि ९५ प्रतिशत अरु ढुंगा, गिटी र माटो पन्छाएर बाहिर फाल्नुपर्ने हुन्छ । व्यवस्थितरुपमा उत्खनन कार्य नहुँदा समस्या बल्झिँदै गएको छ ।

खानी सञ्चालन गर्नुअघि स्थानीयबासिन्दा, व्यवसायी र सरोकावालाबीच पटकपटक भएको सम्झौता कार्यान्वयन भएको छैन । उत्खननकर्ता कम्पनी बानियाँ निर्माण सेवा र मोतिदान कन्स्ट्रक्सन प्रालिले स्थानीय व्यवसायीसँग समन्वय नगरी प्रहरी प्रशासन लगाएर दुःख दिने कार्य गरेको आरोप वडाध्यक्ष कोइरालाको छ ।

यता उद्योगले सञ्चालनमा ल्याएका चुनढुंगा खानीका कारण स्थानीयवासीका समस्या देखा परेकाले उद्योगसँग समन्वय गरी समस्या समाधान गर्न पहल गरिने योजना रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन् । उद्योगले वर्षमा अरबौ रकम नाफा कमाउने तर निजी स्वार्थका लागि गाउँलेलाई चपेटामा पारेर विस्थापित गर्न लागिएको भन्दै स्थानीयवासीले विरोध गरेका छन् ।

प्रतिक्रिया