शुक्रबार, वैशाख ७, २०८१

रोग सर्ने त्रास, जंगलमा बस्नेसँग भेट्नै प्रतिबन्ध

नेपालखोज २०७८ मंसिर १२ गते १३:२२

काठमाडौं । विश्वमा जंगलमै जीवन बिताउने, कन्दमूल र जंगली जनावर खाने विभिन्न जाति बस्ने गर्छन् । विश्वका जंगल तथा टापुका यस्ता मानव जातिको क्रियाकलाप तथा दैनिकी हेर्दा वा सुन्दा हामी आश्चर्यमा पर्ने गर्छौं ।

मास्को-पिरो पेरुको एउटा सानो पृथक जनजाति हो । यस जनजातिलाई कुजारेनो र नोमोले जातिको नामबाट पनि चिनिन्छ । यो पेरुको अमेजन जंगल आसपास र दुर्गम क्षेत्रमा बसोबास गर्ने घुमन्ते सिकारी जनजाति हो ।

पेरुको अमेजन जंगलमा बस्ने मास्को-पिरो जनजातिका सदस्यहरू अल्टो माद्रे डे डिओस नदीको किनारमा नियमित रूपमा देखापर्ने गर्छन् । नदीका किनारमा देखापर्ने समयलाई ख्याल गर्दै मानवशास्त्री, अध्ययन अनुसन्धानकर्ता, सञ्चारकर्मीहरू पुगेर सुरक्षित घेरामा बनाएर फोटोसम्म खिच्ने गर्छन् । तर कसैलाई पनि उनीहरूको समुदायमा पसेर सोधखोज गर्ने अनुमति छैन ।

मास्को-पिरो जाति समूह बनाएर सिकार गर्न खप्पिस हुन्छ । यो जातिको अढाइ सयसम्म जनसंख्या भएको अनुमान छ । यिनीहरू घनाजंगलमा जंगली जनावरजस्तै घुमफिर गरेर दिनचर्या बिताउने गर्छन् ।

खोलाकिनारमा पानी खान र माछा मार्न पुग्छन् । यिनीहरूको शरीरमा आधुनिक कपडा हुँदैन । रुखको बोक्रा तथा पातबाट आफैं बुनेर सामान्य किसिमले शरीर ढाक्ने गर्छन् । झार तथा स्याउलाले बारेर प्रायः खोलाको किनारमा घर बनाउने गर्छन् ।

पेरु सरकारले जातिसँग सम्पर्क गर्न निषेध गरिदिएको छ । उनीहरूको संस्कृति, रहनसहन लोप नहोस् र बाहिरी कुनै रोग नलागोस् भनेर सरकारले अरु मानिसलाई सम्पर्कमा जान निषेध गरेको हो । यो जातिको रोग बाह्य मानिसलाई सरे पनि स्वास्थ्यका लागि खतरा हुने पेरु सरकारको ठहर छ ।

बाहिरी रोग लागेमा उनीहरूको शरीरमा रोग प्रतिरोधात्मक क्षमता एकदमै कमजोर हुने निष्कर्ष चिकित्सकहरूले निकालेका छन् । उनीहरूमा बाह्य रोग सर्ने डरले पेरु सरकारले अरु समुदायका मानिस, पर्यटक, अनुसन्धानकर्ता लगायतसँगको भेटघाटमा रोक लगाएको हो ।

यस्तै अर्को कोरोवाई जाति हो । यो इन्डोनेसियाको दक्षिणी एक टापुको जंगलमा बस्ने गर्छन् । करिब तीन हजारको जनसंख्या रहेको यो जाति रुखमा घाँसको छानो भएको घर बनाएर बस्ने गर्छ । १९७५ मा मात्रै पत्ता लागेको यो जाति घना जंगलमा बस्ने गर्छ । यो आहारका लागि प्रकृतिमाथि निर्भर रहने गर्छ । जंगलका रुख र पातबाट यो जातिले आफ्नो आहारा संकलन गर्नका लागि विभिन्न सामान बनाउने गर्छ ।

सिकार गर्न बाँस तथा काठको भाला प्रयोग गर्ने गर्छन् । तीन हजार जनसंख्या भएको यो जाति एकीकृत र सिकार केन्द्रित हो । अग्लो रुखमा बस्ने यो जाति प्राकृतिक खाना कम हुनेबित्तिकै आफ्नो स्थान परिवर्तन गर्ने गर्छ ।

ब्राजिलको घना तथा डरलाग्दो जंगलमा रमाएर बस्ने अर्को जाति कोरोवाई जाति हो । यो ब्राजिलको पश्चिम एमेजन जंगलमा बस्ने गर्छ । यो जाति आधुनिक समाजमा बस्नका लागि थोरैमात्र तयार भएको मानिन्छ ।

यो जातिको कुनै जात, धर्मलगायत छैन । सबै मानिस समान छन् । जंगलमै सिकार गर्दै र कन्दमूल खाएर दिन बिताउने गर्छन् । कोरोवाई एक घमण्डी र लडाकु जनजाति मानिन्छ । यसले ब्लोपाइप र लामो काठको मुंग्रोले सिकार गर्छ । यो जातिका मानिसहरू आक्रमणकारीहरूको कडा रुपमा प्रतिरोध गर्ने गर्छन् ।

स्रोत : नेसनल जिओग्राफिक डटकम, नलेज दुनियाँ वेबसाइट/युट्युब, जोसुवा प्रोजेक्ट डटनेट आदि

प्रतिक्रिया