शुक्रबार, वैशाख १२, २०८२

जर्मनी भ्रमणमा थाई नरेशको उट्पट्याङ !

नेपालखोज २०७८ मंसिर १२ गते १९:५६

काठमाडौं । विलासी दैनिकीका लागि प्रसिद्ध थाइल्यान्डका राजा महा वजिरालोङकोर्न अहिले आफ्नो जर्मनी भ्रमणलाई लिएर चर्चामा छन । थाई राजा एकपटक फेरि २५० भन्दा बढीको दलबलसहित जर्मनी पुगेका थिए । राजा महा वजिरालोङकोर्नका साथ ३० वटा कुकुर पनि जर्मनीको भ्रमणमा गएका थिए । एक जर्मन टेब्लाइटका अनुसार ६९ वर्षीय थाई राजा र उनको दलबल म्युनिखभन्दा बाहिर हिल्टन एयरपोर्ट होटेलमा बसेका थिए । त्यहाँ ११ दिनका लागि पूरै चौथो तला बुक गरिएको थियो । जर्मनीमा उनले एउटा सानदार निजी जेट प्रयोग गरेका थिए ।

भनिन्छ थाई नरेश महा वजिरालोङकोर्नमा कुकुरका प्रति निकै लगाव छ । उनी कुकुर प्रेमीका रुपमा पनि चिनिन्छन् । उनले आफ्नो एउटा पाल्तु कुकुरलाई एयर चिफ मार्सल पदमा बढुवासमेत गरेका थिए । थाइल्यान्डका वर्तमान नरेशका गतिविधिहरुको लोकतन्त्रवादीहरुले विरोध गर्दै आएका छन् भने थाई राजपरिवार अहिले सार्वजनिक आलोचनाको सिकारसमेत हुन थालेको छ ।

करिब एक वर्ष पहिले कोरोना महामारी उत्कर्षमा रहँदा थाई नरेशले दलबलसहित जर्मनीको भ्रमण गरेका थिए । उक्त भ्रमण दलमा दर्जनौं युवती पनि सामेल थिए । कोरोनो भाइरस नियन्त्रणमा लापरबाही गरेको कुरालाई लिएर आलोचना सहेका राजाले त्यति बेला जनतालाई मर्न छाडेर व्यक्तिगत मोजमस्तीमा डुबेको लान्छनासमेत सहे । उतिबेला उनी जर्मनीको बवेरियन आल्प्सस्थित एक होटेलमा बसेका थिए र उनका साथ उनका कुकुरहरु पनि थिए ।

लोकतन्त्र समर्थकहरुको प्रदर्शनबीच थाई नरेश आफ्ना बुबाको मृत्युको चौथो वार्षिकी मनाउन गएको वर्षको अक्टोबरमा थाइल्यान्ड फर्किएका थिए । बढीजसो देशबाहिर बस्ने थाई नरेशले आलोचकहरुको मुख थुन्न पनि थाइल्यान्ड फर्कनुपरेको थियो । अहिले थाई नरेशले लगातार यात्रा गरिरहेका छन् भने जर्मनीसँग उनको विशेष लगाव देखिन्छ । उनी यसरी जर्मनी गइरहने कारण भने पत्ता लाग्न सकेको छैन । १९७३ मा उनका पिता राजा भूमिबोल अदुल्यादेजले उनलाई थाइल्यान्डको क्राउन प्रिन्सको उपाधि प्रदान गरेका थिए ।

थाई नरेश महा वजिरालोङकोर्नले आफ्नो प्रारम्भिक शिक्षा बैंकककै एक विद्यालयमा लिएका हुन् । १३ वर्ष पुगेपछि उनलाई थप अध्ययनका लागि बेलायत पठाइयो । राजा महा वजिरालोङकोर्नले अस्ट्रेलियाको रोयल मिलिट्री कलेजबाट डिग्री पूरा गरेका छन् । थाइल्यान्ड, यूके, यूएस तथा अस्ट्रेलियामा प्रशिक्षण लिएपछि उनले थाइल्यान्डको सशस्त्र बलमा वरिष्ठ अधिकारीको भूमिकासमेत निर्वाह गरे । राजा वजिरालोङकोर्न वायुसेनाको पाइलटसमेत हुन् ।

थाई नरेश वजिरालोङकोर्न थाइल्यान्डको टुटजिङ सहरमा अवस्थित झिल किनाराको आफ्नो भिल्लामा समय बिताउँछन् । वजिरालोङकोर्न विलासी तथा रंगिनमिजासी राजाका रुपमा चिनिन्छन् । यसको झलक उनको पछिल्लो जर्मनी भ्रमणमा पनि देखियो ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया