काठमाडौंमा ढाका कपडाको प्रदर्शनी हुने

काठमाडौं । काठमाडौंमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुष २, ३ र ४ गते काठमाडौं बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङ्केटमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको हो ।
प्रदर्शनीमा ४० वटा स्टल रहने बताइएको छ । त्यसमध्ये २५ वटा स्टलमा ढाकाका बस्तु र १५ वटा स्टलमा रेशाजन्य अल्लोका उत्पादनहरु राखिने नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिए । सो अवसरमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको पुनर्गठन समेत गरिने संयोजक श्रेष्ठले बताए । उनका अनुसार प्रदर्शनीमा राष्ट्रिय अल्लो उद्यमी संघ नेपालको पनि सहयोग रहेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामकुमार गिरीले पछिल्लो समय ढाकाको महत्व बढ्दै गएको र ढाकाको उत्पादनमा विविधिकरण हुन थालेको बताए । ढाकाले महिला दिदीबहिनीहरुलाई रोजगारमा संलग्न गराउनका साथै पिछडिएका जनजातिहरुको आर्थिक स्तरमा उन्नति गर्नसमेत मद्धत पुर्याएको उनले बताए ।
अध्यक्ष गिरीले ढाकालाई फेसन उद्योगसँग जोड्नु आवश्यक रहेको समेत उल्लेख गरे । ढाकाले ग्रामिण भेगमा रोजगारी सिर्जना गर्न र ग्रामिण भेगमा सन्तुलित विकास गर्न भूमिका खेलेको पनि उनले बताए ।
प्रतिक्रिया