शुक्रबार, जेठ ३, २०८२

अर्थमन्त्रीले भने- अबको पाँच वर्षभित्र रुकुममा गरिबीको अन्त्य गरी समाजवादको आधार तयार हुन्छ

नेपालखोज २०७८ मंसिर १२ गते २०:३१

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताएका छन् । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दे उनले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताएका हुन् ।

अबको पाँचदेखि सात वर्षभित्र रुकुममा गरिबीको अन्त्य गरी समाजवादको आधार तयार पारिने भन्दै उनले उक्त लक्ष्य प्राप्त गर्ने गरी सक्रिय हुन पार्टी कार्यकर्ता र आम जनसमुदायलाई आग्रह गरे । कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारीमार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालन गरिने उनले बताए । उनले गुणस्तरीय शिक्षाको लागि सरकारले हरेक विद्यालयहरूलाई उद्यमशील बनाउने नीति अन्तरगत सरकारले पढ्दै कमाउँदै कार्यक्रम ल्याएको बताए ।

सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण गर्न लागेको, दीर्घ रोगीहरूलाई मासिक पाँच हजारका दरले उपचार खर्च दिने निर्णय कार्यान्वयनमा आउन लागेको, घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई उपचार खर्च दिन लागिएको, राजनैतिक आन्दोलनका शहीद परिवारहरूलाई मासिक तीन हजारका दरले जिवन वृत्ति प्रदान गर्न लागिएको, हरेक पालिकाहरूमा कम्तिमा ५०० युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइएको, कृषि बीमाको प्रिमियम अनुदान ८० प्रतिशत पु¥याइएको लगायतका दर्जनौं जनमुखी कार्यक्रम ल्याइएको मन्त्री शर्माले जानकारी दिए ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य र संगठन विभाग प्रमुख समेत रहनुभएका मन्त्री शर्माले देशमा अबप्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए । देशमा राजनैतिक स्थायित्व कायम गर्नको लागि यस्तो प्रणाली जरुरी भइसकेको मन्त्री शर्माको भनाइ छ ।

प्रतिक्रिया