बिहीबार, चैत १५, २०८०

नयाँ भेरियन्टबाट बच्न सरकारले तयारी थाल्यो

नेपालखोज २०७८ मंसिर १३ गते १३:३९

काठमाडौं । अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न तीव्र तयारी थालिएको सरकार पक्षले दाबी गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई निर्देशन दिइसकेको प्रस्ट पारेका छन् । उनले अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको प्रस्ट्याए ।

प्रवक्ता पोखरेलले अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकाले त्यहाँबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए । उनले भाइरसका बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने जानकारी दिएका छन् ।

सञ्चारकर्मीसँग प्रवक्ता पोखरेलले भने, ‘अहिले हामी कोभिड-१९ संक्रमणको क्रममा छौँ । हामी कम्प्लिट्ली रिकभर भइसकेको होइन । विभिन्न किसिमको भाइरसहरुको संक्रमण छ भन्ने कुरा पहिलेदेखि नै पनि थियो । हालसालै ओमिक्रोन भन्ने भाइरसको संक्रमण अफ्रिकी मुलुकबाट आएको छ भन्ने कुरा सुनिएको छ ।’

प्रवक्ता शर्मा भन्छन्, ‘यो भाइरस भनेको भोलि प्रमाणिकता होला, हामीमै पनि यहीँ डेभलप भएको हुनसक्छ । त्यसको बारेमा जे होला हामीले त्यही निर्णय गर्नुपर्छ । यसबारे सीसीएमसीमा पनि छलफल भइरहेको अवस्था छ ।’

कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको प्रवक्ता पोखरेलले जनाएका छन् । उनले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुर्‍याउन निर्देशन दिएको जानकारी दिए ।

दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले थप चुनौती बढेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ ।

प्रतिक्रिया