शुक्रबार, वैशाख ७, २०८१

वैदेशिक रोजगारीमा गएका नेपालीलाई सम्झौता अनुसार सेवा नदिने कम्पनीलाई कालो सूचीमा राखिने

नेपालखोज २०७८ मंसिर १३ गते १८:५६

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौता अनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने बताएका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुनः एकीकरणबारे मन्त्रालयमा आज भएको छलफलमा मन्त्री श्रेष्ठले सम्झौता अनुसार सेवा सुविधा नदिने कम्पनीहरुलाई कालो सूचीमा राखिने र अवउप्रान्त त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने बताएका हुुन् ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिक समेत नपाएको गुनासो गरेका थिए । उनीहरुले सम्झौता अनुसार काम र पारिश्रमिक नपाएको, विरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कंनुपर्दा चन्दा संकलन गर्नुपरेको बताएका थिए ।

साथै उनिहरुले हातमा सीप नहुँदा विदेशी भुमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको पनि गुनासो गरेका थिए । गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरुले न्युन तलवमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको गुनासो गरेका थिए ।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुर्नमिलन, सामाजिक तथा आर्थिक सशक्तिकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहको बताए ।

प्रतिक्रिया