मंगलबार, वैशाख ४, २०८१

एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना

नेपालखोज २०७८ मंसिर १५ गते ९:५१

चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलोपटक हो । पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय छ ।

पार्टीको केन्द्रीय उपाध्यक्षमा सुरेन्द्रप्रसाद पाण्डे र रामबहादुर थापा निर्वाचित भएका छन् । पाण्डे र थापा पूर्वमन्त्री हुन् । महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजकमा थापा र सहसंयोजक पाण्डे रहेका थिए । वाग्मती प्रदेशतर्फबाट पार्वती रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । उनी जिल्ला अध्यक्ष हुन् ।

एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशीनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगरप्रमुख प्रभा बराल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यसैगरी, दलित महिलातर्फ शिवकुमारी गोतामे केन्द्रीय समितिमा निर्वाचित भएकी छन् । केन्द्रीय सदस्य ज्ञवालीले यति धेरै संख्यामा केन्द्रीय समितिमा जिल्लाबाट प्रतिनिधित्व पहिलोपटक भएको बताए ।

यही मंसिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन भएको एमालेको १०औँ महाधिवेशनको बन्दसत्र सौराहामा सम्पन्न भएको थियो । बन्दसत्रमा सहमति गर्ने प्रयास गरिएको भए पनि असफल भएपछि निर्वाचन गरिएको थियो ।

निर्वाचनअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका जिल्लाका १० नेता केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । रासस

प्रतिक्रिया