शनिबार, माघ २६, २०८१

कार्यकर्तालाई सिंहले भने- नेतृत्व चयन गर्दा होस पुर्‍याउँ

नेपालखोज २०७८ मंसिर १६ गते १६:१३

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । हेटौंडामा भएको कांग्रेस वाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन आग्रह गरेका हुन् ।

Advertisement

‘नेतृत्व चयन गर्दा होस नपुर्‍याउने, अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरुले ध्यान दिनुपर्दछ ।’ साथै उनले कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताए । ‘संविधान जारी गरी जनतामा जाँदा दुईतिहाइ त कांग्रेसले पाउनुपर्ने हो । तर कम्युनिस्टहरुले प्राप्त गरे,’ नेता सिंहको भनाइ थियो । संविधान जारी कांग्रेसले गरेको र संस्थागत तथा लागु गर्ने जिम्मेवारी पनि कांग्रेसमै रहेको उनको टिप्पणी थियो । जनताले अपेक्षा गरेको परिवर्तन हुन अझै बाँकी रहेको नेता सिंहले बताए ।

उनले समयमै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको जिकिरसमेत गरे । कम्युनिटहरुले प्राप्त उपलब्धिहरु नष्ट गर्न लागिपरेको उनको आरोप छ । करिब दुईतिहाइको सरकार हुँदा पनि कम्युनिस्टहरु संघीयता कार्यान्वनमा समेत असफल भएको नेता सिंहको दाबी थियो ।

नेता सिंहले अब देशमा आर्थिक क्रान्ति गर्नुपर्ने समय आएको भन्दै त्यसको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताए । कांग्रेसको नेतृत्वमा मात्रै मुलुकमा आर्थिक क्रान्ति सम्भव भएको उनको दाबी छ । जनताको जीवन र जीविकोपार्जन सहज बनाउन आर्थिक कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । अबको अर्थिक क्रान्ति जनताको स्वास्थ्य उपचार नि:शुल्क गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया