बिहीबार, वैशाख १३, २०८१

सन् २०२१ काे अन्तिम सूर्यग्रहण, कहाँ-कहाँबाट देखिन्छ ?

नेपालखोज २०७८ मंसिर १८ गते ६:४५

काठमाडौं । आज मंसिर १८ गते शनिबार (डिसेम्बर ४) का दिन सूर्यग्रहण लाग्दै छ । पञ्चाङका अनुसार यो सूर्य ग्रहण मार्गशीर्ष मासको अमावश्याका दिन लाग्न गइरहेको छ । यो ग्रहण वृश्चिक राशि तथा ज्येष्ठा नक्षत्रमा लाग्नेछ । यो अंग्रेजी वर्ष २०२१ को अन्तिम ग्रहण हो ।

यो सूर्यग्रहण अन्टार्टिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, दक्षिण अमेरिका तथा एटलान्टिकको दक्षिणी भागबाट मात्र देखिनेछ । यो ग्रहण नेपालमा नदेखिने हुँदा यसको सूतक बारिरहनु पर्दैन । सूर्यग्रहणको समय २०२१ को पहिलो सूर्यग्रहण जेठ २७ गते बिहीबार (१० जुन) मा लागेको थियो ।

आज (शनिबार) लाग्ने यो सूर्य ग्रहण अंग्रेजी वर्ष २०२१ को दोस्रो सूर्यग्रहण हो । यो ग्रहण नेपाली समयअनुसार बिहान ११:१५ मा प्रारम्भ भएर दिउँसो ३:२२ बजे समाप्त हुनेछ । नेपालमा यो ग्रहण नदेखिने हुँदा यसका लागि केही गरिरहनु पर्दैन । यसपटक पश्चिम अन्टार्कटिकाको पूर्वदेखि पश्चिमसम्म पूर्ण सूर्यग्रहण देखिनेछ भने उत्तरी अमेरिका, युरोप तथा एसियाको उत्तरी भागमा आंशिक सूर्यग्रहण देखिनेछ ।

हिन्दु मान्यताअनुसार यो सूर्यग्रहणको प्रभाव खासगरी वृश्चिक राशि तथा अनुराधा र ज्येष्ठा नक्षत्रमा सबैभन्दा बढी पर्नेछ । यो सूर्यग्रहणको समयमा सूर्य र चन्द्रमा दुवै वृश्चिक राशिमा रहनेछन् । सूर्य ग्रहणमा ध्यान दिनुपर्ने कुरा गर्भवती महिलाहरुले ग्रहण हेर्नबाट जोगिनुपर्छ ।

ग्रहणको समयमा मनमनै आफ्ना इष्ट देवको आराधना गर्न सकिन्छ । सूर्यग्रहणका समयमा ‘ॐ आदित्याय विदमहे दिवाकराय धीमहि तन्नो : सूर्य: प्रचोदयात’ मन्त्र जप्नु फलदायी मानिन्छ ।

ग्रहण लाग्नु पहिले खाने-पिउने सामानमा तुलसीको पात राखेर छोपिदिने चलन पनि छ । ग्रहणको समयमा खाना पकाउनु तथा खानु हानिकारक मानिन्छ । ग्रहणकालमा भगवान्को मुर्ति स्पर्श पनि गरिदैन । शास्त्रमा ग्रहण कालमा नसुत्नु पनि भनिएको छ ।

सूर्य ग्रहण कति प्रकारका हुन्छन् ?

पूर्ण सूर्य ग्रहण, आंशिक सूर्य ग्रहण र वलयाकार सूर्य ग्रहण गरी तीन प्रकारका सूर्य ग्रहण हुन्छन् । यो ग्रहण पृथ्वी र सूर्यका बीच चन्द्रमा आएका कारणले लाग्छ ।

प्रतिक्रिया