मंगलबार, जेठ १, २०८१

‘जल, जंगल र जमिनको सदुपयोग हुनेगरी पूर्वाधार निर्माण गरौँ ’

नेपालखोज २०७८ मंसिर १८ गते १०:२५

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जंगल र जमिनको सही ढंगले प्रयोग गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिएका छन् । भरतपुर महानगरपालिकाले आज (शनिबार) चितवनमा आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उनले यस्तो बताएका हुन् । उनले जल, जंगल र जमिनको सही ढंगले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने जनाए । यस्तो विकासले समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले भने, ‘नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो ।’ जल, जमिन र जंगल सम्बन्धित पक्ष रहेको भन्दै उनले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरुपमा आर्थिक बिकासका निम्ति मोडेल रहेको जनाए । आफूले यसलाई चितवनको विकासको मोडेलको रुपमा लिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले चितवनको पर्यटकीय पूर्वाधारका लागि विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको जनाइन् । जसका लागि २९ करोड आवश्यक हुने उनको भनाइ थियो ।दाहालका अनुसार गत वर्ष उद्योग वाणिज्य संघसँग मिलेर ९७ लाखको पदमार्ग निर्माण सकिएको छ । हाल दुई दशमलव पाँच किलोमिटर लामो पदमार्ग, तीन वटा पार्किङस्थल र जग्गा व्यवस्थापन गरिने उनले प्रष्ट पारिन् । नारायणीको किनारलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगर लागि परेको मेयर दाहालको भनाइ छ ।

प्रतिक्रिया