शुक्रबार, वैशाख ७, २०८१

नेपालै पहिलोपटक ‘साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ विषयको पढाइ !

नेपालखोज २०७८ मंसिर १८ गते १५:१४

काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था ‘द ब्रिटिस कलेज’ मा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाई हुने भएको छ । कलेजले एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको विषय ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’को पढाई युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुइ)को सम्बन्धनमा सुरु गर्ने जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक कार्यक्रमको औपचारिक सुरुवात गर्दै नयाँ शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गरे । नेपाल राष्ट्र बैंकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव खेपेको बताउँदै उनले ब्रिटिस कलेजले यस्तो पाठ्यक्रमलाई संचालन गर्न लागेकोमा खुसी व्यक्त गरेका हुन् ।

नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तितो यथार्थ पोख्दै मिश्रले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पु¥याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे । उनले साइबर सेक्युरिटी विषय पढ्नका लागि अब विदेश जान नपर्ने अवस्था आएको समेत बताए ।

सोल्टी होटलमा भएको कार्यक्रमको सुरुवातमा ह्याकिङले हाल देशमा निम्त्याएको खतरालाई प्रतिनिधित्व गर्ने विषयसँग सम्बन्धित विशेष नृत्य प्रस्तुत गरिएको थियो । त्यसपछि फ्याक्ट्स नेपालले तयार पारेको शैक्षिक कार्यक्रमसँग सम्बन्धित तथ्य सामग्री प्रस्तुत भयो ।
साइबर सेक्युरिटी सम्बन्धी तथ्य सामग्रीसहित प्रस्तुत भएका एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले केही पछिल्लो समय सूचना प्रविधिले फड्को मारेको भन्दै चुनौती पनि थपिएकोले यस क्षेत्रमा काम गर्ने जनशक्ति देशलाई पनि आवश्यक रहेको औल्याए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव अनिलकुमार दत्तले डिजिटल नेपालको अवधारणमा जानको लागि सूचना प्रविधिको क्षेत्रमा धेरै कामहरु भइरहेको बताए । उनले सञ्चार मन्त्रालयमा पनि साइबर सेक्युरिटी सेन्टरको स्थापना भएको जानकारी दिए ।

कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा ठूलो माग रहेको बताए । यसै क्षेत्रसँग सम्बन्धित शैक्षिक कार्यक्रम नेपालमै नौलो भएको उनको भनाई छ ।
प्यानलमा छलफलमा नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक डा. राजिव सुब्बाले नेपालमा साइबर सुरक्षा र डिजिटल फरेन्सिकको अवस्थामाथि प्रकाश पारेका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका निरिक्षण विभागका निर्देशक विजयकुमार रोय, खल्तीका सीइओ बिनय खड्का, इमिनेन्स वेजका कार्यकारी निर्देशक नारायण कोइराला, नेपाल प्रहरीको साइबर ब्युरोका प्रहरी नायबउपरीक्षक पशुपति रे, स्ट्याण्डर्ड चार्टर्ड बैंकका सीआईओ सुजित श्रेष्ठ, एनसेलका आइएटी विभाग प्रमुख यस्मिनी भट्टराईले साइबर सुरक्षा र डिजिटल फोरेन्सिकको बारेमा भनाई राखे । ‘द ब्रिटिस कलेज’ ले सन् २०२२ को जनावरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ कार्यक्रमको पढाई सुरु गर्दैछ ।

प्रतिक्रिया