आइतबार, वैशाख १६, २०८१

‘जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचिकृत गराउने प्रतिवद्धता’

नेपालखोज २०७८ मंसिर १८ गते १९:१४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचिकृत गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन् ।

मन्त्री आलेले नेपालकै सबभन्दा ऐतिहासिक र धार्मिक आस्था बोकेको जनकपुरधामको जानकी मन्दिरलाई आफ्नै कार्यकालमा विश्व सम्पदा सूचिमा राख्न विशेष पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । उनले यसै विवाह पञ्चमीको दिन भारतका लाखौं भक्तजन जनकपुरधामको जानकी मन्दिरमा आएर दर्शन गर्ने गरेको उल्लेख गरे ।

तीन वर्ष अगाडी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विवाह पञ्चमीकै दिन जनकपुरधाम आएर माता जानकीको पुजाआजा गरेको स्मरण मन्त्री आलेले गरेका हुन् । उनले नेपालमा भगवान पशुपतिनाथ जति नै जानकी मन्दिर पनि महत्वपूर्ण रहेको बताए । उनले आफ्नो मन्त्रालयबाट हुनसक्ने सबै किसिमको सहयोग जानकी मन्दिरका निम्ति उपलब्ध गराउने प्रतिवद्धतासमेत जनाए । सो कार्यक्रममा मन्त्री आलेलाई मिथिला संस्कृति समाजले मायाको चिनासमेत प्रदान गरेको थियो ।

मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले पनि श्रीराम जानकी विवाहोत्सवको शुभकामना मन्तव्य दिएका छन् । उनले मिथिला संस्कृतिको चर्चा गर्दै यसको संरक्षणका लागि सबैले आआफ्नो तर्फबाट योगदान पुर्‍याउन आग्रह गरेका थिए ।

यस्तै, कार्यक्रममा कार्यक्रममा मिथिलाञ्चलको संस्कृति र संस्कारलाई बचाई राख्ने संस्कृतिविद् तथा सो क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई स्रष्टा सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया