आइतबार, वैशाख १६, २०८१

क्यान इन्फोटेकको २७औं संस्करण माघ १८ गतेदेखिसम्म हुने

नेपालखोज २०७८ मंसिर १८ गते १९:३३

काठमाडौ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७औं संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेगरी तयारी अगाडि बढाइएको छ ।

इन्फोटेकको २७औं संस्करण गत बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिड–१९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेकका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्श तथा क्यान महासंघको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको थियो ।

सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२० मा इन्फोटेकको २६औं संस्करण सफलता पुर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीको यो २७औं संस्करण हो, जुन ६ दिनसम्म चल्नेछ ।

यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपैक्षा क्यान महासंघले लिएको छ । यसबीचमा सूचना तथा संचार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुलाई क्यान इन्फोटेकमा ल्याउने महासंघको प्रयास रहने छ ।

क्यान इन्फोटेकको २७औं संस्करणको मिति घोषणासंगै यसको शिर्ष प्रायोजन प्लाटिनम, डायमण्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुल्ला गरिएको छ । सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता प्रचलन छ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन् । क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टरलगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाईएको छ ।

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।

प्रतिक्रिया