आइतबार, वैशाख १६, २०८१

होटल व्यवसायीका समस्या समाधान गर्न पहल गर्छु : मन्त्री आले

नेपालखोज २०७८ मंसिर १८ गते २१:१६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटल व्यवसायीका समस्या समाधानका लागि आफूले पहल थाल्ने बताएका छन् ।

एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको नवौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनलाई आज सम्बोधन गर्दै उनले पछिल्लो समय होटल तथा गेष्टहाउस व्यवसायीलाई पर्यटन विभागमा दर्ता प्रक्रियादेखि अन्य विभिन्न समस्या भएकाले ती समस्या समाधानका लागि आफूले पहल गर्ने बताए।

पर्यटन क्षेत्रलाई प्रोत्साहित गर्न होटेल तथा गेष्टहाउस सञ्चालकको अहम् भूमिका रहेकाले होटल व्यवसायीलाई परेका समस्या र साह्रोगाह्रोलाई पर्यटन मन्त्रालय तथा होटल व्यवसायी संंघ दुवै पक्ष मिलेर समाधान गर्नतिर लाग्नुपर्ने मन्त्री आलेको भनाइ थियो ।

होटल तथा गेष्टहाउस व्यवसायीले पर्यटन ऐन २०३५ लाई संशोधनका लागि पहल गर्नुपर्ने तथा पर्यटन विभागमा होटल दर्ता गर्न पहिले ५० बेडको व्यवस्था थियो त्यसलाई परिमार्जन गरी २५ बेडमा झारेकाले त्यसले गर्दा अधिकांश साना तथा मझौला होटल त्यो मापदण्डमा नपर्दा दर्ता हुन सम्भव नभएकाले २५ बेडको मापदण्डलाई संशोधनका लागि पहल गर्न माग गरेका थिए ।

होटल तथा गेष्टहाउस व्यवसायीलाई पर्यटन ऐन २०३५ र पर्यटन विभागमा होटल दर्ता गर्ने प्रक्रियाले भइरहेका समस्याका विषयमा उचित पहलकदमी चाल्ने मन्त्री आलेले बताए ।

उनले आफू पवित्र उद्देश्य बोकेर मन्त्रालयमा मन्त्रीका हैसियतामा आएकाले नागरिक तथा पर्यटन व्यवसायीसहित देशलाई फाइदा हुने र सकारात्मक हुने कामका लागि आफू कहिले पनि पछि नहट्नेसमेत बताए । मन्त्री आलेले मन्त्रालय तथा मातहतका निकायमा हुने गलत प्रवृत्तिका कामलाई निरुत्साहित गर्दै आफूले सही र जनहितका कामलाई उच्च प्राथमिकता दिएको जिकिर गरे ।

प्रतिक्रिया