बिहीबार, चैत १५, २०८०

लिङ्देन वडाध्यक्षदेखि पार्टी अध्यक्षसम्म

नेपालखोज २०७८ मंसिर १९ गते ११:०४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका थिए ।

लिङ्देनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी २०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष भएका थिए ।

उनी स्थानीय निकायको निर्वाचनमा तत्कालीन झापाको गोलधाप गाविस ३ बाट दुई पटकसम्म वडाध्यक्ष पनि भएका थिए । राजनीतिमा अनेकौं दुःख र कष्ट भोगेका उनी २०६०\६१ मा तत्कालीन जिविस झापाको सभापतिसमेत भएका थिए ।

उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए । उनले कांग्रेस नेता सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गरेका थिए ।

देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेताका रुपमा चिनिएका नवनिर्वाचित अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय छन् । उनको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा झापाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उनले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै विताएका थिए । पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, संगठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालेका लिङदेनले एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया