आइतबार, वैशाख २३, २०८१

३२ अंकले नेप्से बढ्दा ४ अर्ब ५४ करोडको कारोबार

नेपालखोज २०७८ मंसिर २० गते १५:३५

काठमाडाैं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन ७२ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने ३२ दशमलव २२ अंकले बढेर २५ सय ४६ दशमलव आठ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६३ अंकले बढेर चार सय ८० दशमलव ९७ अंकमा पुगेको छ ।

दुई सय २७ वटा कम्पनीको ६९ हजार आठ सय ८८ पटकको कारोबारमा ९४ लाख ७१ हजार तीन सय ११ कित्ता सेयर खरिद बिक्री भएको छ । जसको कुल कारोबार रकम चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैयाँको भएको छ । १३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ ।

सोमध्ये वाणिज्य बैंक समूहको सूचक १३ अंकले बढेर १७ सय १७ दशमलव ५२ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि २६ दशमलव नौ अंकले बढेर ११ हजार दुई सय ८३ दशमलव ७१ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय २३ दशमलव दुई अंकले बढेर १३ हजार चार सय ८७ दशमलव ९७ अंकमा पुग्दा विकास बैंक, जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ११ सय ५७ रुपैयाँ २० पैसामा कारोबार हुँदा जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने छ दशमलव ८८ प्रतिशतले घटेर २६ सय ४० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको भने प्रतिकित्ता १४ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा १७ करोड १५ लाख ९३ हजार एक सय २८ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया