मंगलबार, जेठ १, २०८१

नारायणी नदी तटबन्धमा एकैपटक पाँच अर्ब रुपैयाँको काम

नेपालखोज २०७८ मंसिर २१ गते १०:१०
फाइल तस्बिर

काठमाडौं । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक पाँच अर्ब रुपैयाँको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६\६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन ।

नारायणी नदी तटबन्ध व्यवस्थापन आयोजना भरतपुरमार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटबन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । बजेटको अभावले सोचेजस्तो काम हुन भने सकेको छैन । नारायणी नदीको बाढी तथा कटानले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका एवं विनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तररूपमा लागिपरेको बताएकी छन् । उनका अनुसार नदी तटबन्धनका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिँचाइ विभागले स्वीकृत गरी अर्थ मन्त्रालयमा पठाएको छ । जसमा चितवन र नवलपरासीतर्फ तटबन्धनका लागि २३ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खर्च लाग्ने प्रस्तावित लागत आएको उनले जानकारी दिएकी छन् ।

जसमध्ये पहिलो चरणमा पाँच अर्ब रुपैयाँको कामका लागि बहुवर्षीय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल रहेको छ । मन्त्रालयबाट केही दिनमा नै स्वीकृति हुने जानकारी आफूले प्राप्त गरेको उनले बताएकी छन् ।
वर्षाको समयमा ठूलो जोखिम निम्तिने गरेपछि महानगरपालिकाले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आएको थियो ।

केही दिनअघि सोही क्षेत्रका सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा अर्थमन्त्री र सचिवले सार्वजनिक कार्यक्रममा तटबन्धको काम तत्काल अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको प्रमुख दाहालले जनाइन् ।

महानगरपालिकाले विकास बहस नाम दिएर गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको समेत उपस्थिति रहेको थियो । नारायणी नदी तटबन्ध गरिएसँगै पश्चिम चितवनको धेरै भाग सुरक्षित हुने र बगरमा परिणत भएको धेरै जमिन उपयोगमा ल्याउन सकिने प्रमुख दाहालको भनाइ छ ।

बहुवर्षीय आयोजनाका रूपमा सो रकम सुनिश्चित भएसँगै आगामी वर्ष थप रकम निकासा गराउन सहज हुने र गुरुयोजनाअनुसार काम सम्पन्न गर्न सकिने उनले जनाएकी छन् । गुरुयोजनाअनुसार काम हुँदै गर्दा भरतपुर महानगरपालिकाको नारायणी नदीतर्फको सबै भू–भाग सुरक्षित हुने छ ।

अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भएलगत्तै बहुवर्षीय खरिद कार्य गर्न तयारी गरेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ । आयोजना प्रमुख रवीन्द्रबहादुर थापाले एक दुई दिनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको पत्र दिने जानकारी आफूले पाएको बताएका छन् ।

कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर दिनेश पौडेलका अनुसार गुरुयोजनाअनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि ९ अर्ब ५५ करोड र नवलपरासीका लागि १४ अर्ब ४३ करोड रुपैयाँ खर्च लाग्ने प्रस्तावित लागत छ ।

यस वर्ष रु पाँच अर्ब रुपैयाँबाट चितवनतर्फ भरतपुर महानगरपालिकामा छ दशमलव २७४ किलोमिटर तटबन्ध गरिने योजना रहेको छ । नवलपरासीतर्फ चार दशमलब २४६ किलोमिटर तटबन्ध गरिने जनाइएको छ ।

हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरिसकिएको छ । चालु आर्थिक वर्षमा भरतपुर महानगरमा ८ करोड ६५ लाख र नवलपरासीका विभिन्न स्थानमा ९ करोड ३५ लाख बराबरको तटबन्ध गर्नका लागि काम अघि बढाइसकिएको छ ।

आयोजनाका अर्का सिनियर डिभिजनल इञ्जीनियर शिवजी शाहका अनुसार गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुने छन् । तटबन्ध बनेपछि १४ हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ । नारायणी नदीमा धेरै बाढी आउँदा १४ हजार ४०३ क्यूविक मिटर प्रतिसेकेण्ड पानीको वहाब रहने गरेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया