शनिबार, वैशाख ८, २०८१

मालीमा भएको आतंकवादी हमलाको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

नेपालखोज २०७८ मंसिर २१ गते १३:५८

संयुक्त राष्ट्रसंघ । मालीमा गत शुक्रबार भएको आतंककारीको हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले निन्दा गरेको छ । मालीको मध्य भागमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा भएको आतंकारी आक्रमणमा परि महिला र बालबालिकासहित ३० जनाभन्दा बढीको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएका थिए ।

सुरक्षा परिषद्वारा जारी प्रेस विज्ञप्तिमा सदस्यहरुले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् र पीडित परिवार र मालीको संक्रमणकालीन सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । परिषद्का सदस्यहरूले आतङ्ककारी हमलाका दोषी, आयोजक, फाइनान्सर र प्रायोजकहरुलाई न्यायको कठघरामा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।

सबै राज्यहरुलाई अन्तर्राष्ट्रिय कानुन र सान्दर्भिक सुरक्षा परिषद्को प्रस्तावअन्तर्गत आफ्नो दायित्वहरु बमोजिम काम गर्न आग्रह गरेको छ । उनीहरूले सबै प्रकारका आतङ्कवादलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतराहरूमध्ये एक हो भन्ने कुरालाई पुनः पुष्टि गरेका छन् ।

सबै राज्यहरुले अन्तर्राष्ट्रिय रुपमा हुने खतराहरू विरुद्ध लड्नुपर्ने आवश्यकतामा जोड दिए । मालीको सङ्क्रमणकालीन सरकारले शनिबार जारी गरेको विज्ञप्तिअनुसार अज्ञात सशस्त्र डाकूहरूको समूहले मध्य मालीको सोंगो गाउँनजिकै मानिसहरू बोकेको ट्रकमा आक्रमण गरी आगजनी गरेका थिए ।

मालीका अन्तरिम राष्ट्रपति असिमी गोइटाले आक्रमणमा मारिएकाहरुको सम्झनामा आइतबारदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । त्यस स्थानमा केही समयअघिदेखि नै आतङ्ककारीले हिंसात्मक क्रियाकलाप गर्दै आएका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया