बिहीबार, वैशाख ६, २०८१

नेपालका मुस्लिम समुदायको अवस्थाबारे राष्ट्रसंघको चासो

नेपालखोज २०७८ मंसिर २१ गते १४:४२

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा रहेका मुस्लिम समुदायको अवस्थाको बारेमा चासो राखेको छ । मंगलवार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको एक प्रतिनिधी मण्डलले नेपालमा रहेका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो ।

संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे स्कटरको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आयोगले गरिरहेको काम, मुस्लिम समुदायको शिक्षाको अवस्था, भूगोलअनुसार बसोबासको अवस्थालगायतको विषयमा जिज्ञासा राखेको आयोगका अध्यक्ष अन्सारीले बताए । भेटको क्रममा आयोगका अध्यक्ष अन्सारीले आयोगले गरिरहेको काम र मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा जानकारी गराएका थिए ।

भेट बारे आयोगका अध्यक्ष अन्सारीले भने, ‘मुस्लिम आयोगले मुस्लिम समुदायको उत्थान र विकासको, त्यसको सशक्तीकरणको बारेमा जुन हाम्रो टिओआर छ, त्योभित्र रहेर हामीले विभिन्न रिसर्चहरु गर्ने काम गरिरहेका छौँ । बढीभन्दा बढी शिक्षा क्षेत्रमा मुस्लिम समुदायलाई सामेल गराउनको लागि शिक्षाबाट बञ्चित भएका महिला, बालबालिकालाई बढीभन्दा बढी स्कुल मदरसामा हामीले पढाउनका लागि जुन प्रयास, कोसिस गरिरहेका छौँ यिलगायतका विषयमा कुरा उठ्यो । २०७८ सालको जनगणनामा बढीभन्दा बढी मुस्लिम समुदायलाई सहभागी हुन हामीले अपिल गरेका थियौँ । विभिन्न जिल्लामा कार्यक्रम गरेको थियौँ । यि सबै कामहरुको बारेमा हामीले जानकारी गरायौँ ।’

प्रतिनिधी मण्डलले नेपालको मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा सन् २०२२ मा जेनेभामा हुने सम्मेलनमा रिपोर्ट पेस गर्ने बताएको आयोगका अध्यक्ष अन्सारीले जानकारी दिए ।

प्रतिक्रिया