मंगलबार, चैत ६, २०८०

तयारी अन्तिम चरणमा, डिजिटल भोटिङ गर्नेबारे निर्णय हुन बाँकी

नेपालखोज २०७८ मंसिर २१ गते १५:१७

काठमाडौं । नेपाली कांग्रेस आसन्न १४औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १४औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताए । प्रवक्ता शर्माले प्रदेश २ को प्रदेश अधिवेशन र केही जिल्लाको अधिवेशन बाहेक अन्य सबै तहका निर्वाचन सकिएको र प्रदेशमा २ मा महाधिवेशनपछि निर्वाचन गर्ने बताए । उनले केन्द्रिय महाधिवेशनको लागि आवास, खाद्यान्नको व्यवस्थापन र प्रचारप्रसारका कामलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै महाधिवेशनको स्वागत द्वार र श्रृंगारको संयोजक नेपाली कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीलाई बनाएर काम अघि बढाइएको पनि बताए ।

प्रवक्ता शर्माले आजबाट सार्वजनिक रुपमा देखिने ढंगको प्रचारप्रसार र आन्तरिक रुपमा गर्नुपर्ने व्यवस्थापनका कुरामा गम्भीरतापूर्वक लागेको बताए । प्रवक्ता शर्माले कोरोना भाइरसको जोखिम कायमै रहेको बेला नयाँ भेरियन्टले बढाउन सक्ने समस्यालाई मध्यनजर गरी महाधिवेशन स्थलमा स्यानिटाइजर, मास्कको अनिवार्य गरेको बताए । उनले अन्य प्रकारका रोगहरुका लागि पनि महाधिवेशन स्थलमा नै हेल्थ डेस्क स्थापना गरिने जानकारी दिए ।

प्रवक्ता शर्माले डिजिटल भोटिङको व्यवस्था गर्ने प्रश्ताव आएको भएपनि अब ढिलो भइसकेको भन्दै अबको दुई दिनमा पदाधिकारी र केन्द्रिय समितिको बैठक बसेर पहिलेकै व्यवस्थाअनुसार वा डिजिटलबाट भोट गर्ने भन्ने निर्णय गर्ने बताए । उनले यस पटक मतदाताको संख्या धेरै रहेकोले मत व्यक्त गर्न एक घण्टाको समय लाग्ने बताए । डिजिटल भोटिङको व्यवस्था गर्न सकेमा मत व्यक्त गर्न र गणना गर्न पनि कम समय लाग्ने बताए ।

प्रवक्ता शर्माले २०४६ सालको परिवर्तनपछि महाधिवेशन आयोजना गर्ने राजनीतिक दलले नीतिको कुरा गरेपनि त्यो भन्दा प्रधान विषय नेतृत्वमा चयन हुँदै आएको र यस पटक भने पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको प्रश्तावमा महाधिवेशनपछि नीति अधिवेशन हुने बताए । उनले यस महाधिवेशनमा नेतृत्व चयनको विषय भएकोले नीतिका कुराहरु नगरिने स्पष्ट पारे । प्रवक्ता शर्माले राजनीतिक दल आधुनिक र रुपान्तरित बन्दै जाँदा नीति अधिवेशन र नेतृत्व अधिवेशन फरक गर्नुपर्ने बताए ।

कांग्रेस, देश र समाज रुपान्तरणको लागि विभिन्न नेताहरुले राखेका कुरा केन्द्रिय महाधिवेशनको विषयवस्तु नबने पनि नीति अधिवेशनमा यिनै कुराहरुलाई विषयवस्तु बनाइने बताए । उनले यो महाधिवेशन पूर्व घोषणा बमोजिम नेतृत्व चयनमै केन्द्रित हुने र पार्टीको महामन्त्रीको र अर्को पार्टीको कोषाध्यक्षको गरी महाविधेशनमा दुईवटा लिखित प्रतिवेदन पेस हुने बताए ।

प्रवक्ता शर्माले महासमितिको बैठकबाट अहिलेसम्म आइपुग्दा केन्द्रिय कार्यसमितिले गरेका कामहरुको विषयहरुलाई अनुमोदनको प्रश्ताव पनि पेश हुने बताए ।

प्रतिक्रिया